एसपी रिपोर्टर
जनकपुरधाम, असार ४ :
मधेस प्रदेशसभा सचिवालयद्वारा स्थापना गरिएको पुस्तकालयको उद्घाटन प्रदेशसभाका सभामुख रामअशिष यादव ले गरेका छन्।
प्रदेशसभा परिसरमा आयोजित कार्यक्रममा पुस्तकालय उद्घाटन गर्दै सभामुख यादवले पठन संस्कृतिमा ह्रास आइरहेको वर्तमान अवस्थामा अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको बताए। उनले नीति निर्माण हुने थलोमै पुस्तकालय स्थापना हुँदा जनप्रतिनिधि, राजनीतिकर्मी तथा अन्य सरोकारवालामा अध्ययन र पुस्तकप्रतिको रुचि बढ्ने विश्वास व्यक्त गरे।

उनले ऐन–कानुनबारे पर्याप्त ज्ञान हुनु जनप्रतिनिधिका लागि आवश्यक रहेकाले पुस्तकालयले कानुनी तथा नीतिगत विषयमा ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुर्याउने बताए। प्रदेशसभामा स्थापना गरिएको पुस्तकालयबाट जनप्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय नागरिकले समेत लाभ लिन सक्ने उनको भनाइ थियो।

पुस्तकालयमा नेपालको संविधान, विभिन्न ऐन–कानुन, मधेस प्रदेशसभाबाट निर्माण भएका कानुनसम्बन्धी पुस्तक, नेपाल तथा विश्व राजनीतिसँग सम्बन्धित ऐतिहासिक सामग्री तथा धार्मिक ग्रन्थहरूको संग्रह राखिएको छ।
कार्यक्रममा प्रदेशसभाकी उपसभामुख बबिता राउत, प्रदेशसभा सदस्य, सञ्चारकर्मी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
पुस्तकालय स्थापना भएसँगै प्रदेशसभामा अध्ययन, अनुसन्धान तथा कानुनी ज्ञान अभिवृद्धिका लागि अनुकूल वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ।





