एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २८ :
जनकपुरधाम उपमहानगरपालिका २५ स्थित वभनगामाको एक सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति (विव्यस) पूर्णता नपाएको भन्दै स्थानीय अभिभावक तथा निर्वाचित सदस्यहरूले तालाबन्दी गरेका छन्।
स्थानीयका अनुसार श्री कण्टिर झा नमूना माध्यमिक विद्यालय, वभनगामामा व्यवस्थापन समितिका सदस्यहरू निर्वाचित भएको अढाई वर्ष बितिसक्दा पनि समितिले पूर्णता नपाएपछि विरोधस्वरूप तालाबन्दी गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका निर्वाचित सदस्यहरू मो. कलाम, सुरेश मण्डल तथा स्थानीय राजकिशोर साहको अगुवाइमा विद्यालयमा तालाबन्दी गरिएको स्थानीय मो. जिलानीले जानकारी दिए।
उनका अनुसार विद्यालय व्यवस्थापन समितिका चार जना सदस्य निर्वाचित भएको लामो समय बितिसक्दा पनि प्रधानाध्यापक शैलेन्द्र मल्लिकले समितिलाई पूर्णता दिन आवश्यक प्रक्रिया अगाडि नबढाएको आरोप छ। समितिको तीन वर्षे कार्यकाल पूरा हुन अब करिब छ महिना मात्र बाँकी रहँदा समेत अध्यक्ष चयन हुन नसकेको उनीहरूको भनाइ छ।
स्थानीयहरूले विद्यालयको शैक्षिक अवस्था कमजोर बन्दै गएको, अनुशासित वातावरणको अभाव रहेको तथा व्यवस्थापकीय कमजोरीका कारण शिक्षाको गुणस्तर खस्किएको आरोप समेत लगाएका छन्।
मो. जिलानीका अनुसार पछिल्लो माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यालयबाट सहभागी करिब १०० जना विद्यार्थीमध्ये केवल १८ जना मात्र उत्तीर्ण भएका थिए, जसले विद्यालयको शैक्षिक अवस्थाप्रति गम्भीर प्रश्न उठाएको छ। स्थानीयहरूले विद्यालय व्यवस्थापन समिति तत्काल पूर्णता गरी शैक्षिक सुधारका लागि आवश्यक कदम चाल्न सम्बन्धित निकायसँग माग गरेका छन्।