एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २६ :
सापु रोगको ५०औँ वार्षिकोत्सवको अवसरमा स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले निगरानी सुदृढीकरण, जनचेतना तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । रोगको बढ्दो जोखिमलाई ध्यानमा राख्दै नियन्त्रण, रोकथाम तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले सापु रोगका बिरामीका लागि जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । हाल यस्तो सेवा सिरहाको लहानमा मात्र उपलब्ध रहेकाले जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा समेत सेवा विस्तार गर्नुपर्ने उनले बताए । अस्पताललाई थप व्यवस्थित र सुदृढ बनाउन सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्नेमा उनले जोड दिए ।
स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेले वातावरणीय परिवर्तनका कारण सापु रोगको जोखिम बढ्दै गएको बताए । बागमती प्रदेशमा रोगको प्रकोप बढ्दो क्रममा रहेको उल्लेख गर्दै उनले मधेस प्रदेश पनि जोखिममा पर्न सक्ने चेतावनी दिए । उनले रोग नियन्त्रणका लागि जनचेतना, नियमित निगरानी तथा रोकथामका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए ।
न्यौपानेले सापु रोग नियन्त्रण तथा व्यवस्थापनका लागि प्रदेश सरकारले आवश्यक नीति तथा कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने तयारी गरिरहेको जानकारी दिए ।
कार्यक्रममा स्वास्थ्यकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
नेपालमा सापु रोग पहिलो पटक वि.सं. २०३२ मा पोखरास्थित एक विद्यालयमा पहिचान गरिएको थियो । चिकित्सकहरूका अनुसार यो रोग मुख्यतः बालबालिकामा बढी देखिए पनि ३८ दिनका शिशुदेखि ८० वर्षसम्मका व्यक्तिमा समेत संक्रमण देखिने गरेको छ ।