एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २६ :
मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज सिंहले जनस्तरको सक्रिय सहभागिता र सहयोगबाट मधेस प्रदेशलाई देशकै सबैभन्दा साक्षर प्रदेशका रूपमा विकास गर्न सकिने बताएका छन्।
युनिसेफद्वारा आयोजित ‘आशा : द ड्रीम मोशन’ कार्यक्रममा बोल्दै मन्त्री सिंहले साक्षरता सूचकांकमा मधेस प्रदेश पछाडि रहे पनि समुदायको सामूहिक प्रयासबाट छोटो समयमै उल्लेखनीय सुधार सम्भव रहेको बताए। उनले प्रत्येक नागरिकले कम्तीमा एक जनालाई साक्षर बनाउने अभियान सञ्चालन गर्न सके प्रदेशको साक्षरता दर तीव्र गतिमा वृद्धि हुने विश्वास व्यक्त गरे।
उनले सीमित स्रोत–साधनका बाबजुद प्रदेश सरकारले साक्षरता अभिवृद्धिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। आगामी बजेटमार्फत प्रत्येक जिल्लाबाट कम्तीमा दुई विद्यालय छनोट गरी कुल १६ विद्यालयलाई नमूना विद्यालयका रूपमा विकास गर्ने तयारी भइरहेको उनले बताए। यसका लागि स्थानीय तहसँग समन्वय गरेर अघि बढिने उनको भनाइ थियो।

मन्त्री सिंहले प्रविधिमैत्री शिक्षण पद्धति, कला–संस्कृतिमा आधारित शिक्षा तथा विज्ञान र प्रविधिसँग सम्बन्धित शैक्षिक कार्यक्रमलाई थप विस्तार गर्ने योजना प्रदेश सरकारले अघि बढाएको जानकारी दिए।
कार्यक्रममा युनिसेफ मधेस फिल्ड कार्यालय प्रमुख अनिता दाहालले युवाको सीप विकास र रोजगारी सिर्जनामा केन्द्रित विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताइन्। उनले मधेस प्रदेशको करिब ४० प्रतिशत जनसंख्या १६ देखि ४० वर्ष उमेर समूहमा रहेको उल्लेख गर्दै यस जनशक्तिको प्रभावकारी उपयोग आवश्यक रहेको धारणा राखिन्।

दाहालले शिक्षण प्रणाली सुधार, युवाको क्षमता अभिवृद्धि, सीपमूलक तालिम तथा रोजगारी सिर्जनाका क्षेत्रमा साझेदारीमार्फत काम गर्ने लक्ष्य रहेको बताइन्। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि, सरोकारवाला निकायका पदाधिकारी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।





