एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १९ :

निजी विद्यालयहरूले चर्को शुल्क असुल गरे पनि अपेक्षाअनुसार गुणस्तरीय शिक्षा दिन नसकेको गुनासो बढिरहेका बेला याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय विद्यार्थी र अभिभावकको आकर्षणको केन्द्र बन्दै गएको छ।
जनकपुरधाम उपमहानगरपालिका–८ स्थित उक्त विद्यालयले शनिबार कक्षा ४ देखि ९ सम्म नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गरेको थियो। नेपाली र अंग्रेजी दुवै माध्यमबाट अध्यापन हुँदै आएको विद्यालयको प्रवेश परीक्षामा नगरका विभिन्न क्षेत्रबाट सयौँ विद्यार्थी सहभागी भएका विद्यालयका प्रधानाध्यापक सञ्जय झा ले जानकारी दिए।

प्रधानाध्यापक झाका अनुसार चालु शैक्षिक सत्रका लागि कक्षा ४ देखि ९ सम्म ५४० छात्र र ३२१ छात्रा गरी कुल ८६१ विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छन्। यद्यपि, आवेदन दिएका ८६ विद्यार्थी भने परीक्षामा अनुपस्थित रहे।
विद्यालयप्रति अभिभावक र विद्यार्थीको विश्वास बढ्दै गएको उल्लेख गर्दै प्रधानाध्यापक झाले गुणस्तरीय पठनपाठनकै कारण आकर्षण बढेको बताए। “हामी अभिभावकलाई विश्वासमा लिएर अध्ययन–अध्यापन गराइरहेका छौँ, त्यसैले विद्यालयप्रति आकर्षण बढ्दो छ,” उनले भने।

हाल विद्यालयमा ३ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। तर आवश्यक भौतिक पूर्वाधार अभावका कारण दुई सिफ्टमा कक्षा सञ्चालन गर्नुपर्ने अवस्था रहेको विद्यालय प्रशासनले जनाएको छ।
प्रधानाध्यापक झाले विद्यालयलाई थप व्यवस्थित बनाउन अतिरिक्त कक्षा कोठा र विद्यालय बस आवश्यक रहेको बताए। केही शिक्षक निजी स्रोतबाट व्यवस्थापन गरेर पठनपाठन सञ्चालन भइरहेको उल्लेख गर्दै उनले सरकारले भौतिक पूर्वाधारमा सहयोग गरे प्रदेशकै नमुना विद्यालय बनाउने लक्ष्य रहेको बताए।