एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १८ :
जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरस्थित आधारभूत विद्यालय, कपिलेश्वरमा शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना अभियान सम्पन्न भएको छ। ‘सबै बालबालिका विद्यालय जाऔं, उज्यालो भविष्य बनाऔं’ र ‘आजको भर्ना, भोलिको उज्यालो सपना’ भन्ने नारासहित विद्यालयले भर्ना तथा स्वागत कार्यक्रम सञ्चालन गरेको हो।
वडाध्यक्ष रामचन्द्र पजियार तथा विद्यालयका प्रधानाध्यापक गौरीशंकर लाल कर्णको अगुवाइमा वैशाख १५ देखि १७ गतेसम्म विभिन्न टोलहरूमा पुगेर अभियान सञ्चालन गरिएको थियो।

वि.सं. २०२९ मा स्थापना भएको यस विद्यालयमा प्रारम्भिक बाल विकास कक्षादेखि कक्षा ८ सम्म अध्ययनको व्यवस्था रहेको छ।
नयाँ शैक्षिक सत्रलाई लक्षित गर्दै विद्यालय प्रशासनले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गराउन आग्रह गरेको छ। प्रधानाध्यापक कर्णले सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको उल्लेख गर्दै यसका लागि सामुदायिक सहयोग आवश्यक रहेको बताए। उनले गुणस्तरीय शिक्षा, अनुशासन तथा विद्यार्थीको समग्र विकासलाई प्राथमिकतामा राखिने जानकारी दिए।
भर्ना अभियानअन्तर्गत नयाँ विद्यार्थीहरूको स्वागतसँगै शैक्षिक सामग्रीको व्यवस्था, विद्यालय वातावरण सुधार तथा पठनपाठनलाई थप प्रभावकारी बनाउने योजना अघि सारिएको विद्यालयले जनाएको छ।





