एसपी रिपोर्टर
जनकपुरधाम, चैत २० :
आधुनिक जीवनशैलीको प्रभावसँगै मधेस प्रदेशमा स्तनपान गराउने आमाहरूको संख्या घट्दो क्रममा रहेको तथ्य सार्वजनिक भएको छ। स्वास्थ्य कार्यालय धनुषाद्वारा आयोजित “आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन” सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिइएको हो।
कार्यक्रममा स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले सुत्केरी भएलगत्तै शिशुलाई आमाको दूध खुवाउने परिपाटी कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गरे। उनले नवजात शिशुलाई बाहिरी दूध खुवाउने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको बताए।
उनका अनुसार आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्री तथा वितरणसम्बन्धी ऐनबारे जनचेतना फैलाउनु अत्यावश्यक छ। सन् २०२२ को तथ्यांकअनुसार नेपालमा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको प्रतिशत ५५ रहेको छ, जुन मधेस प्रदेशमा पनि समान रहेको छ।
यद्यपि, मधेसमा ६ महिनासम्म शिशुलाई स्तनपान गराउने आमाहरूको संख्या भने बढ्दो देखिएको छ। सन् २०१६ मा ५५ प्रतिशत रहेको यस्तो दर २०२२ मा बढेर ६५ प्रतिशत पुगेको छ, जसलाई स्वास्थ्यकर्मीहरूले सकारात्मक संकेतका रूपमा लिएका छन्।
त्यसैगरी, आमाको दूधबाहेक अन्य दूध खुवाउने आमाहरूको संख्या मधेस प्रदेशमा १२ प्रतिशत रहेको तथ्यांकले देखाएको छ। स्वास्थ्यकर्मीहरूले शिशुको समुचित पोषण र स्वास्थ्यका लागि स्तनपानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।