एसपी रिपोर्टर
जनकपुरधाम, चैत २० :
मधेस प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले जनकपुरधामस्थित प्रादेशिक अस्पतालको अनुगमन गरेका छन्। जनकपुरधामका सार्वजनिक जग्गा अतिक्रमणमुक्त बनाउने अभियानसँगै मन्त्री महतोले शुक्रबार अस्पताल पुगेर स्थलगत निरीक्षण गरेका हुन्।
अनुगमनका क्रममा उनले राजधानीलाई व्यवस्थित बनाउने प्रयाससँगै स्वास्थ्य क्षेत्रमा सुधार झन् आवश्यक रहेको बताए। मधेसका अन्य जिल्लाभन्दा राजधानीभित्रकै स्वास्थ्य संस्थाहरूमा गुणस्तरीय सेवा सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए।
निरीक्षणका क्रममा स्वास्थ्यकर्मीहरूले अस्पतालमा केही कमजोरी रहेको स्वीकार गर्दै सुधार गर्ने प्रतिबद्धता जनाएका थिए। सो अवसरमा मन्त्री महतोले अस्पताल परिसरमा सरसफाइको अभाव तथा सेवा प्रवाहमा देखिएका समस्याप्रति ध्यानाकर्षण गराएका थिए।
मन्त्री महतोले सेवा सुधार, सरसफाइ व्यवस्थापन तथा नागरिकलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित निकायलाई आवश्यक पहल गर्न निर्देशन दिएका छन्।





