एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १९ :
महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीस्थित आदर्श माध्यमिक विद्यालयमा खाजामा छेपारो परेपछि १०० भन्दा बढी विद्यार्थीलाई अस्पताल पुर्याएको छ। दिउँसो एक विद्यार्थीको प्लेटमा छेपारो देखिएपछि खाजाबारे शंका उत्पन्न भई अन्य विद्यार्थीले समेत वाकवाकी महसुस गरेपछि अभिभावक र विद्यालयले तत्कालै सबैलाई जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्याएका हुन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश महतोका अनुसार घटनापछि विद्यार्थीहरू त्रसित भएका थिए। प्रादेशिक अस्पताल जनकपुरधामका आकस्मिक कक्षका डा. उज्वल झाका अनुसार बालबालिकामा गम्भीर स्वास्थ्य समस्या देखिएको छैन, तर सतर्कताका लागि निगरानीमा राखिएको हो।

यता पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले विद्यालयको दिवा खाजामा छेपारो कसरी पुगेको भन्ने विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ।
अस्पतालका अनुसार अधिकांश विद्यार्थीको अवस्था सामान्य भइसकेको छ। केही विद्यार्थी उपचारपछि घर फर्किसकेका छन् भने बाँकीलाई निगरानीका लागि अस्पतालमै राखिएको छ।





