एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १८ :
गर्मी र वर्षाको मौसम सुरु भएसँगै तराई–मधेशका विभिन्न जिल्लामा सर्पदंशका घटनामा वृद्धि भएको छ। सजगता नअपनाउँदा सर्पको टोकाइमा पर्ने जोखिम अझ बढिरहेको छ।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालको तथ्यांकअनुसार हाल सर्पदंशका बिरामीहरू दिनहुँ बढ्दो क्रममा अस्पतालमा पुगिरहेका छन्। इमरजेन्सी वार्डका प्रमुख उज्वल झाका अनुसार पछिल्लो समय दैनिक पाँचदेखि छ जनासम्म सर्पको टोकाइमा परेका बिरामी उपचारका लागि आइपुग्ने गरेका छन्।

२०८० चैत यता मात्रै १ हजार १ सय १५ जना सर्पदंशका बिरामी अस्पताल पुगेका छन्। जसमध्ये ६९ जनामा सर्पको टोकाइ पुष्टि भएको अस्पतालले जनाएको छ। समयमै उपचार लिन अस्पताल आउनेको संख्या बढ्दै जाँदा मृत्युदर भने तुलनात्मक रूपमा घटेको देखिएको छ। सो अवधिमा ७ जनाले ज्यान गुमाएको अस्पतालको तथ्यांकले देखाएको छ।

प्रमुख झाले जानकारी दिएअनुसार विषालु सर्पले डसेको कुरा बिरामीले ढिलो गरी थाहा पाउनु, आईसीयू तथा भेन्टिलेटर जस्ता अत्यावश्यक स्वास्थ्य सुविधा सबै अस्पतालमा नहुनु, र दक्ष जनशक्ति अभाव जस्ता कारणले पनि मधेसमा सर्पदंशका बिरामीको मृत्यु हुने गरेको पाइएको छ।





