काठमाडौँ , भदौ १७ :
वीरगञ्जमा हैजा देखिएको डेढ साता बितिसक्दा पनि यसको स्रोत पत्ता लाग्न सकेको छैन। सरकारले नमुना परीक्षणका लागि पठाएको दाबी गरे पनि अहिलेसम्म रिपोर्ट सार्वजनिक नभएपछि विभिन्न आशंका उब्जिएका छन्।
चिकित्सकका अनुसार हैजाको पुष्टि र यसको वास्तविक स्रोत पहिचानका लागि दुई चरणमा परीक्षण हुन्छ। पहिलो चरणमा ‘र्यापिड डाइग्नोस्टिक टेस्ट’ (आरडीटी) बाट १५–३० मिनेटमै बिरामीमा सङ्क्रमण छ वा छैन भन्ने पत्ता लाग्छ। दोस्रो चरणमा ‘कल्चर र एन्टिबायोटिक सेन्सिटिभिटी टेस्टिङ’ (एएसटी) मार्फत हैजा गराउने ‘भिब्रियो कोलेरी’ ब्याक्टेरियाको पहिचान गरिन्छ र कुन औषधि प्रभावकारी हुन्छ भन्ने थाहा पाइन्छ। यो प्रक्रिया पूरा हुन कम्तीमा पाँच दिन लाग्छ।
यद्यपि, विशेषज्ञहरूले हैजाको स्रोत पहिचानका लागि खानेपानी वा खानेकुराको नमुना परीक्षण गर्न दुईदेखि चार घण्टामात्र लाग्ने बताएका छन्। तर वीरगञ्जको प्रकोपमा पानी नै मुख्य कारक हो वा अन्य कारणले संक्रमण फैलिएको हो भन्नेबारे अझै प्रष्ट भइसकेको छैन।
जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीले लामो समयसम्म स्रोत पत्ता नलाग्नु सरकारी निकायको लापरबाही भएको टिप्पणी गरेका छन्। उनले भने, “खानेपानी नै मुख्य स्रोत हो भन्ने कुरा सामान्यले पनि बुझ्न सक्छ। स्रोत पहिचानमा ढिलाइ हुनु सरकारको नियतमाथि प्रश्न हो।”
डा. मरासिनीले जिम्मेवार निकाय र व्यक्तिमाथि कारबाहीको डरले सरकार स्वयंले तथ्य लुकाइरहेको आरोप समेत लगाए। उनका अनुसार पानीको नमुना परीक्षण गरेर हैजाको जीवाणु पत्ता लगाउन दुई घण्टा मात्र लाग्छ।
स्वास्थ्य मन्त्रालयकै एक अधिकारीका अनुसार हैजा अन्तर्राष्ट्रियस्तरमै रिपोर्ट गर्नुपर्ने रोग भएकाले पनि रिपोर्ट सार्वजनिक गर्न ढिलाइ भएको हुन सक्ने अनुमान गरिएको छ।
वीरगञ्जका विभिन्न घरहरूमा भण्डारण गरिएको पानीको नमुनामा हैजाका जीवाणु भेटिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। उनीहरूको भनाइमा घरको धारो, चापाकल, ट्याङ्कर वा ड्रममा राखिएको पानी परीक्षण गरेर सहजै स्रोत पत्ता लगाउन सकिन्छ। साथै, बिरामीले खाएका खानेकुराहरूको पनि परीक्षण भइरहेको छ।
सेरोटाइपिङमार्फत संक्रमण फैलाउने ब्याक्टेरियाको प्रजाति पत्ता लगाइने र यो ब्याक्टेरिया नेपालमै पहिलेदेखि भएको हो वा बाहिरबाट आएको हो भन्ने प्रष्ट पारिने चिकित्सकहरूले बताएका छन्।





