एसपी रिपोर्टर
जनकपुरधाम , भदौ १६ :
सरकारले आफ्ना विमतिहरू बेवास्ता गर्दै विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा लैजाने तयारी गरेपछि निजी विद्यालयका संघ–संस्थाहरूले आन्दोलनलाई तीव्रता दिएका छन्। त्यसैअन्तर्गत जनकपुरधाममा निजी विद्यालयहरूले बस र्‍यालीसहित विरोध प्रदर्शन गरेका छन्।
रामानन्द चोकबाट सुरु भएको बस र्‍याली रिंग रोड परिक्रमा गरिएको थियो। शिक्षा विधेयकमा निजी विद्यालयहरू कम्पनी ऐन अन्तर्गत दर्ता भए पनि “गैरनाफामूलक” शब्द प्रयोग गरिएको र पूर्ण छात्रवृत्तिसम्बन्धी व्यवस्थामा आफ्नो विमति रहेको हिसान धनुषाका अध्यक्ष संजीव ठाकुरले बताए।

प्याब्सन जनकपुरधामका अनुसार केन्द्रीय सर्कुलरअनुसार बस र्‍यालीसहितको विरोध गरिएको हो। यसैबीच, प्याब्सनका केन्द्रीय सदस्य विश्वलाल सिंहले विधेयकले निजी विद्यालयहरूलाई समाप्त पार्ने उद्देश्य लिएको आरोप लगाए। उनले माग सम्बोधन नभए कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी दिए।
प्याब्सन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा निकालेको र्‍यालीमा सहभागी निजी विद्यालयका सञ्चालकहरूले विधेयकमा “गैरनाफामूलक” शब्द हटाउनुपर्ने र पूर्ण छात्रवृत्तिको व्यवस्था यथावत् नराखिने हो भने आन्दोलन जारी रहने चेतावनी दिएका छन्।