एसपी रिपोर्टर
जनकपुरधाम , भदौ ९ :
संसदीय समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकको विरोधमा निजि विद्यालयसंग सम्बन्धित संघ संस्थाहरुले मधेस प्रदेशसभा घेराउ गरेका छन् ।
समितिबाट पारित गरिएको शिक्षा विधेयकमा निजि विद्यालयहरुलाई धाराशायी बनाउने गरी व्यवस्था गरिएको भन्दै केन्द्रिय सर्कुलर अनुसार निजि विद्यालयसंग सम्बन्धित संघ संस्थाहरु प्याब्सन, एनप्याब्सन तथा हिसानले जनकपुरधामस्थित मधेस प्रदेससभा घेराउ गरेको हो ।

शिक्षा विधेयकमा निजि विद्यालयहरु कम्पनीहरु कम्पनी ऐन अन्तर्गत रहेपनि गैरनाफा मूलक संस्था रह्नुपर्ने व्यवस्था राखेर निजि विद्यालयहरुलाई धाराशायी बनाउने मनसाय देखिएको प्याब्सन मधेसका अध्यक्ष गणेश साहले आरोप लगाउनुभयो । उहाँले निजि विद्यालयहरुले २०२८को शिक्षा ऐन टेकेर छात्रवृति प्रदान गर्दै आईरहेको थियो तर अहिलेको शिक्षा विधेयकमा पूर्ण छात्रवृतिको व्यवस्था आफूहरुलाई मान्य नरहेको बताए ।

सामुदायिक विद्यालय तथा सरकारले विद्यार्थीहरुलाई दिन नसकेको सुविधा आफूहरुलाई उपलब्ध गराउन दवाब बनाउने र निजि विद्यालयहरुलाई समाप्त पार्ने हिसाबले यो शिक्षा विधेयक आएकाले आफूहरु आन्दोलित हुन बाध्य भएको साहले बताउनु भयो । आन्दोलनरत प्याबसन, एनप्याब्सन तथा हिसानले संयुक्त रुपमा शिक्षा विधेयकबाट गैरनाफामूलक शब्द र पूर्ण छात्रवृतिको व्यवस्था नहटाइएसम्म आन्दोलन जारी रह्ने चेतावनी दिएका हुन् ।