एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ६ :
जनकपुरधाममा संसदीय समितिबाट पारित विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विद्यालयहरुले बस रैलीसहित विरोध प्रदर्शन गरेका छन्। विधेयकमा निजी विद्यालयहरूप्रति बेइमानी गरिएको आरोप लगाउँदै विद्यालय सञ्चालकहरूले आ–आफ्ना विद्यालयका बससहित सडकमा उतरी विरोध जनाएका हुन्।
रामानन्द चोकबाट सुरु भएको बस रैलीले रिंग रोड परिक्रमा गरेको थियो।

प्याब्सन जनकपुरधामका नगर अध्यक्ष रविन्द्र चौधरीका अनुसार नयाँ शिक्षा विधेयकले निजी विद्यालयलाई कम्पनी ऐनअन्तर्गत राख्नु अन्यायपूर्ण भएको बताए। उनले भने, “२०२८ सालको शिक्षा ऐनअनुसार निजी विद्यालयहरूले छात्रवृत्ति प्रदान गर्दै आएका थिए। तर, अहिलेको विधेयकमा पूर्ण छात्रवृत्ति अनिवार्य गर्ने प्रावधान हामीलाई स्वीकार्य छैन।”

चौधरीले सामुदायिक विद्यालय तथा सरकारले उपलब्ध गराउन नसकेको सुविधा निजी विद्यालयलाई जबरजस्ती दिन बाध्य पार्ने र निजी क्षेत्रलाई समाप्त पार्ने उद्देश्यले विधेयक ल्याइएको आरोप लगाए।
प्याब्सन, एनप्याब्सन तथा हिसानको संयुक्त आयोजनामा भएको बस रैलीमा सहभागी निजी विद्यालय सञ्चालकहरूले शिक्षा विधेयकमा कम्पनी ऐनअन्तर्गत राख्ने व्यवस्था र पूर्ण छात्रवृत्ति अनिवार्य गर्ने प्रावधान हटाइएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।