एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ५ :
जनकपुरधाम उपमहानगरपालिकामा नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार्यक्रमका बीच उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । आर्थिक करिडोर कार्यालय बर्दिवासले सो भवनको स्वामित्व उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहलाई हस्तान्तरण गरेको हो । सोही अवसरमा नगरप्रमुख साहले भवनको उद्घाटन समेत गर्नुभयो ।

किसानलाई सहयोग पुर्‍याउने उद्देश्यले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास योजनाअन्तर्गत भवन निर्माण गरिएको हो । करिब २ करोड ४० लाख रुपैयाँको लागतमा सम्पन्न सो भवनमा अपाङ्गमैत्री संरचना, प्रयोगशाला, तालिम हल तथा आधुनिक सेवा प्रवाहका लागि आवश्यक सुविधा समावेश गरिएको आर्थिक करिडोर कार्यालय बर्दिवासका प्रमुख राजेश साहले जानकारी दिनुभयो ।

भवनको स्वामित्व ग्रहण गर्दै नगरप्रमुख साहले उपमहानगरको ग्रामीण वडामा कृषिको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै कार्यालय सञ्चालनमा आएपछि किसानलाई प्रत्यक्ष लाभ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले उपमहानगरले भवनको पूर्ण उपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

त्यसैगरी, आवश्यक औषधि तथा अन्य सामग्री एक वर्षसम्म आर्थिक करिडोर कार्यालयले उपलब्ध गराउने र त्यसपछि उपमहानगरपालिकाले आफैं व्यवस्थापन गर्ने व्यवस्था गरिएको प्रमुख राजेश साहले बताउनुभयो ।