एसपि रिपोर्टर
जनकपुरधाम, असार ७ :

११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जनकपुरधामको तिरहुतिया गाछीमा भव्य रूपमा योग शिविर सम्पन्न भएको छ। ‘योगः स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ आयोजित उक्त शिविर जनकपुरधाम उपमहानगरपालिकाको स्वास्थ्य शाखा र आयुर्वेद शाखाको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

शिविरमा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह, वडा अध्यक्षहरू, विभिन्न विद्यालयका विद्यार्थी, महिला समूहका प्रतिनिधि, वरिष्ठ नागरिक तथा सर्वसाधारण गरी झण्डै ५ सय भन्दा बढीको सहभागिता रहेको थियो।
शिविरमा आयुर्वेद शाखा प्रमुख एवं योगगुरु मनोहर साहले उपस्थितहरुलाई विभिन्न योगासन, प्राणायाम तथा ध्यान विधिहरूको अभ्यास गराए। योगगुरु साहले तनाव व्यवस्थापन, श्वासप्रश्वास प्रणाली सुदृढीकरण र रोग प्रतिकारक क्षमता अभिवृद्धि गर्न योग अभ्यासको महत्वबारे समेत जानकारी गराएका थिए।

उद्घाटन सत्रमा नगरप्रमुख मनोजकुमार साहले योग केवल शारीरिक व्यायाम नभएर समग्र जीवन पद्धतिको एक अनिवार्य अंग भएको उल्लेख गर्दै योगलाई विद्यालयदेखि समुदायस्तरसम्म व्यापक बनाउन नगरपालिकाले निरन्तर कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले स्वस्थ समाज निर्माणका लागि योग अभ्यासलाई दैनिक जीवनशैलीमा समावेश गर्न सबैलाई आग्रह गरे।
नगरपालिकाले आगामी दिनमा हरेक वडामा निशुल्क योग प्रशिक्षण केन्द्र स्थापना गर्ने तयारी भइरहेको जानकारी समेत दिएका थिए।