एसपि रिपोर्टर
जनकपुरधाम, जेठ १२ :
जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्थानीय तहको भूमिकामा जोड दिँदै जनकपुरधाममा नीति संवाद कार्यक्रम सम्पन्न भयो। स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा आयोजित कार्यक्रममा मधेश प्रदेशका पालिकाका जनप्रतिनिधि तथा स्वास्थ्य अधिकारीहरूले बजेट, संरचना र जनशक्ति अभाव नहुने व्यवस्था गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागी पालिकाहरूले आफ्ना प्रयासहरू प्रस्तुत गरे। सर्लाहीको हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकीले ज्येष्ठ नागरिकहरूलाई निःशुल्क औषधि, घरदैलो सेवा, स्वास्थ्य शिविर, र सेनेटरी प्याड वितरणको जानकारी गराए। पर्साको पोखरीया नगरपालिकाका प्रमुख प्रधुम्न चौधरीले जनशक्ति र औषधि अभावका कारण सेवा प्रभावकारी बनाउन कठिनाइ भएको बताए। सप्तरीको हनुमान नगरकंकालनीका प्रमुख विरेन्द्र माझीले बजेट कटौतीले सेवा विस्तारमा असर परेको जनाए।

स्वास्थ्य निरीक्षक कमलेश मिश्रले आगामी वर्षका लागि पर्याप्त बजेट विनियोजन हुने आशा व्यक्त गर्दै सरकारबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण हुने जानकारी दिए। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक सरोज न्यौपानेले सेवा प्रभावकारी बनाउन पालिकाहरूको भूमिका महत्त्वपूर्ण भएको बताए।





