एसपी रिपोर्टर
जनकपुरधाम, चैत १६ :
स्तरवृद्धिको माग गर्दै मधेस प्रदेशका सिनियर अहेव तथा अनमी संघर्ष समितिले मुख्यमन्त्री कार्यालय अगाडि अनिश्चितकालीन धर्ना दिने निर्णय गरेको छ। संघर्ष समितिको बैठकले आफ्नो माग सम्बोधन गराउन दबाब दिने उद्देश्यले २०८१ चैत २५ गतेदेखि शान्तिपूर्ण धर्ना सुरु गर्ने निर्णय गरेको संयोजक मोहन साहले जानकारी दिए।
यसअघि निर्धारण गरिएको धर्ना कार्यक्रम इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व तथा हिन्दू धर्मावलम्बीहरूको चैते दशैं र रामनवमीलाई ध्यानमा राख्दै पछि सारिएको उनले बताए।
संघर्षरत स्वास्थ्यकर्मीहरूले स्थानीय सेवा ऐन २०८१ मा रहेको त्रुटिपूर्ण प्रावधानका कारण आफ्नो स्तरवृद्धि रोकिएको दाबी गर्दै आएका छन्। ऐनमा आवश्यक संशोधन नगरिए थप सशक्त आन्दोलन गर्ने संघर्ष समितिले चेतावनी दिएको छ।