एसपी रिपोर्टर
जनकपुरधाम, चैत ७ :
बिहीबारदेखि सुरु भएको एसईई परीक्षामा चिट चोराउने कार्यमा संलग्न भएको आरोपमा धनुषामा एक सहायक केन्द्राध्यक्ष र तीन निरीक्षकलाई निष्कासित गरिएको छ।
धनुषाको नगराइन नगरपालिकास्थित गिरिजा मावि परीक्षा केन्द्रमा चिट चोराउने कार्यमा संलग्न रहेको भन्दै सहायक केन्द्राध्यक्ष र तीन निरीक्षकलाई निष्कासित गरिएको जिल्ला शिक्षा समन्वय इकाइ, धनुषाले जनाएको छ।
त्यस्तै, जनकपुरधामको सकल भवन कन्या मावि, किसानपुर मावि, नगराइनको राजेश्वर निधि मावि, बरकुर्वा मावि र सिमराढी मावि परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूलाई स्पष्टीकरण सोधिएको छ। जिल्ला शिक्षा समन्वय इकाइका अनुसार एक परीक्षार्थीको परीक्षा समेत रद्द गरिएको छ।