एसपी रिपोर्टर
जनकपुरधाम ,फागुन २८ :
मधेस प्रदेशको प्रादेशिक प्रयोगशालाले आयोजना गरेको तीन दिवसीय प्रयोगशाला गुणस्तर व्यवस्थापन सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। मधेस प्रदेशका आठै जिल्लाबाट आएका २८ जना प्रयोगशालाकर्मीलाई प्रयोगशालाको गुणस्तर सुधार तथा व्यवस्थापन सम्बन्धी तालिम दिइएको हो।
तीन दिनसम्म चलेको उक्त तालिममा कार्यालय व्यवस्थापन र नेतृत्व क्षमता, उपकरण खरिद प्रक्रिया, प्रयोगशाला गुणस्तर जाँच, गुणस्तर नियन्त्रण, वातावरणीय व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। छ जना प्रशिक्षकले तालिम सञ्चालन गरेको जानकारी कार्यक्रम संयोजक रामेश्वर दासले दिए। तालिममा स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखा प्रमुख डा. वर्षा प्रकाश, प्रादेशिक प्रयोगशालाका निर्देशक डा. प्रणवकुमार यादव, संयोजक रामेश्वर दास, ओमराज यादव, संतोषकुमार यादव, दीपेन्द्र मिश्र, जितेन्द्र साह, ललित नारायण यादवलगायतले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए।
स्वास्थ्य महाशाखा प्रमुख डा. वर्षा प्रकाशले प्रयोगशालाकर्मीहरू स्वास्थ्य सेवाको महत्वपूर्ण हिस्सा भएकाले गुणस्तरीय सेवा प्रवाह गर्न थप जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याइन्। उनले लैब रिपोर्टमा देखिने कमजोरीहरू सुधार गर्दै सेवा सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने बताइन्।
प्रादेशिक प्रयोगशालाका निर्देशक डा. प्रणवकुमार यादवले प्रयोगशालाकर्मीहरूलाई स्वास्थ्य क्षेत्रको “बैक बोन” भन्दै गुणस्तरीय सेवा प्रवाह नभए पूरै स्वास्थ्य प्रणाली प्रभावित हुने चेतावनी दिए। उनले प्रयोगशालाको स्तर वृद्धिका लागि निरन्तर क्षमता अभिवृद्धि आवश्यक रहेको बताउँदै लैब सेवालाई अझै प्रभावकारी बनाउन सबैलाई जिम्मेवार बन्न आग्रह गरे।
तालिममा सहभागीहरूले यस्तो कार्यक्रमले प्रयोगशालाको गुणस्तर सुधार गर्दै सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्न टेवा पुग्ने धारणा व्यक्त गरेका छन्। बरिष्ठ ल्याब टेक्निसियन गुणानन्द साहको समेत तालिममा उपस्थिति रहेको थियो।