एसपी रिपोर्टर
जनकपुरधाम ,फागुन २४ :
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामचन्द्र पजियारको निजी लगानीमा सो वडाका युवाहरुलाई लक्षित गर्दै निःशुल्क कम्प्युटर कक्षा संचालन गरिने भएको छ। नेपाली कांग्रेस क्षेत्र नम्बर ३(२) का सभापति समेत रहेका वडाध्यक्ष पजियारले युवाहरुलाई प्रविधिसँग जोड्ने उद्देश्यले तीन महिने तथा छ महिने कम्प्युटर तालिम उपलब्ध गराउने घोषणा गरेका छन्।
यो तालिम १४ देखि ३५ वर्षसम्मका कम्तीमा कक्षा ९ उतीर्ण युवाहरुका लागि सञ्चालन गरिनेछ। इच्छुक युवाहरुका लागि चैत १२ सम्म दर्ता खुला गरिएको छ। हाललाई वडा १६ मा सीमित यो कार्यक्रमलाई आगामी दिनमा अन्य वडाहरुमा समेत विस्तार गर्ने प्रतिबद्धता वडाध्यक्ष पजियारले व्यक्त गरेका छन्। यसै क्रममा, उनले इलेक्ट्रिसियन, प्लम्बर तथा महिलाहरुका लागि उद्यमसम्बन्धी तालिम समेत सञ्चालन गर्ने योजना रहेको बताएका छन्।
वडास्तरीय निःशुल्क कम्प्युटर कक्षाको उद्घाटन नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले गरेका हुन्। उनले प्रविधिमैत्री युवाहरु देशको आर्थिक, सामाजिक र व्यक्तिगत विकासका लागि महत्वपूर्ण हुने उल्लेख गरे। साथै, प्रविधिको सही उपयोगले भ्रष्टाचार न्यूनीकरणमा समेत मद्दत पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, राष्ट्रिय मुक्ति पार्टीका संजय चौधरी, कपिलेश्वरनाथ युवा कमिटीका अध्यक्ष मनोज साह लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।


