एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १९ :
जनकपुरधामस्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय ज्ञानकूपमा वृहत शैक्षिक मेला सम्पन्न भएको छ। मेलामा विद्यार्थीहरूले विज्ञान तथा प्रविधिमा आधारित दैनिक जीवनमा उपयोगी सामग्रीहरू, अंग्रेजी एवं नेपाली भाषा-साहित्य, रोबोटिक्स तथा मानव विकासका चरणहरूको प्रदर्शनी गरेका थिए।
मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले मेलाको उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा उनले ज्ञानकूप विद्यालयले इतिहास र विज्ञानको समिश्रण गर्दै प्रभावकारी शिक्षा प्रदान गरिरहेको बताएका थिए। साथै, प्रदर्शनी अवलोकनपछि उनले विद्यार्थीहरूलाई प्रविधि तथा प्राविधिक शिक्षामा थप प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, “यदि अहिले नै यिनीहरूको सिकाइमा लगानी गरियो भने भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट पहिचान बनाउनेछन्।” 
शैक्षिक मेलाको अवलोकन गर्न नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, धनुषा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य जुली महतो, प्रदेश सभा सदस्य दिपेन्द्र ठाकुर, साथै नेताहरू उमाशंकर अरगरिया, शिवशंकर साह हिरालगायतका विशिष्ट व्यक्तित्वहरू विद्यालय पुगेका थिए।
विद्यालयका प्रधानाध्यापक संजय झाले विद्यार्थीहरूले वर्षभरि सिकेका ज्ञानलाई प्रोजेक्टका रूपमा प्रस्तुत गर्न यो शैक्षिक मेला आयोजना गरिएको जानकारी दिए। मेलामा कक्षा १ देखि १२ सम्मका ४७ वटा स्टल राखिएको थियो, जसमा ३५० जना विद्यार्थीको सहभागिता रहेको थियो। कार्यक्रमको समापनमा उत्कृष्ट प्रदर्शनी प्रस्तुत गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरियो।





