एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १६ :
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध रूपमा सञ्चालित पाँचवटा अस्पताल तत्काल बन्द गर्न निर्देशन दिएका छन्। शुक्रबार बर्दिवासस्थित आठ अस्पतालको अनुगमन गरेका मुख्यमन्त्री सिँहले सेवा सञ्चालन अनुमति नलिएका पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर, र खोमुसरा डेन्टल क्लिनिक प्रालि बन्द गर्न आदेश दिएका हुन्।
मुख्यमन्त्री सिँहका प्रेस सल्लाहकार अनिलकुमार कर्णका अनुसार, बिना अनुमतिपत्र सञ्चालनमा रहेका ती अस्पतालहरू तत्काल बन्द गर्नुपर्नेछ। उनले ती अस्पतालका सञ्चालक तथा उपलब्ध कर्मचारीलाई कानुनी प्रक्रिया पूरा गरी सेवा सञ्चालन अनुमति लिएपछि मात्र अस्पताल सञ्चालन गर्न निर्देशन दिए।
यसैक्रममा, अनुगमनका क्रममा महेन्द्र डेन्टल क्लिनिक प्रालि ले सेवा सञ्चालन स्वीकृति लिएको पाइयो। त्यस्तै, जनसेवा हस्पिटल प्रालि र डी.एन.बी. मेडिकेयर सेन्टर प्रालि लाई सेवा अनुमति नवीकरण गर्न मुख्यमन्त्री सिँहले निर्देशन दिए।
मुख्यमन्त्री सिँहले हालैका दिनहरूमा निजी अस्पतालहरूको अनुगमन तीव्र बनाएका छन्। उनले मापदण्डअनुसार भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापनबिना सञ्चालनमा रहेका अस्पतालहरू बन्द गर्न कडा कदम चाल्दै आएका छन्।