एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १५ :
मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिहीबार शिक्षकहरूले संघीय शिक्षा ऐन ल्याउनु पर्ने माग गर्दै प्रदर्शन गरेका छन्। साथै, उनीहरूले मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन्।
नेपाल शिक्षक संघ मधेश प्रदेशका संयोजक तथा प्रदेश आन्दोलन परिचालन समितिका अध्यक्ष परशुराम यादवको नेतृत्वमा नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन लगायत सातवटा शिक्षक संगठन आबद्ध शिक्षकहरूले संघीय शिक्षा ऐनमा शिक्षकहरूको अधिकार सुनिश्चित गर्न विभिन्न सुझाव समावेश गर्नुपर्ने माग गरेका छन्।
शिक्षकहरूको ध्यानाकर्षण पत्र बुझ्दै शिक्षामन्त्री तिवारीले संविधानमा उल्लेखित कतिपय अधिकारका लागि प्रदेश सरकार स्वयं संघर्षरत रहेको बताइन्। उनले शिक्षकहरूको मागलाई संघ सरकारसमक्ष पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरिन्।
शिक्षकहरूले बुझाएको ध्यानाकर्षण पत्रमा संविधानको अनुसूची ८ को अधिकार अनुसूची ९ मा राखिनुपर्ने, अस्थायी शिक्षकलाई प्रक्रिया पूरा गराई स्थायी गर्नुपर्ने, शिक्षकहरूको अनिवार्य बढुवा १० वर्षमा हुनुपर्ने लगायतका मागहरू समेटिएको एकीकृत अखिल नेपाल शिक्षक संगठन मधेश प्रदेशका महासचिव गुलाव यादवले जानकारी दिए।
प्रदर्शनका क्रममा शिक्षकहरूले निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीहरूसँग केहीबेर भनाभन समेत भएको थियो।