एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १० :

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इण्डस्ट्रीयल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन्। बुटवलकी छात्रा प्रकृति लम्साल संदिग्ध अवस्थामा आफ्नै कोठामा मृत भेटिएपछि नेपाल फर्केका विद्यार्थीहरूले उक्त प्रदर्शन गरेका हुन्।

प्रकृति लम्सालको न्यायको माग गर्दै प्रदर्शन गरेका विद्यार्थीहरूले जनकपुरधामको नगर परिक्रमा समेत गरेका थिए। उनीहरूले कूटनीतिक स्तरमा समस्या समाधान नभएसम्म किट विश्वविद्यालय नफर्किने र आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

विद्यार्थीहरूले नेपाल र भारत दुवै देशबाट भएको पहल अपर्याप्त रहेको आरोप लगाएका छन्। उनीहरूको माग छ कि दुवै देशका प्रधानमन्त्रीहरूले कूटनीतिक वार्तामार्फत समस्या समाधान गर्न पहल गर्नुपर्छ।

एक विद्यार्थीका अनुसार, आफूहरूलाई लिखित प्रतिबद्धता प्राप्त नहुँदासम्म किट विश्वविद्यालय फर्किने सम्भावना नरहेको बताएका छन्। साथै, समस्याको समाधान नभएसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन्।