एसपी रिपोर्टर
जनकपुरधाम, माघ ३० :
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सामुदायिक विद्यालयका विद्यार्थीमाथि निगरानी बढाउँदै गृहकार्य दिने र मूल्याङ्कन गर्ने प्रणालीलाई प्रभावकारी बनाउन सकिए निजी विद्यालयहरूको आवश्यकता समाप्त हुन सक्ने दाबी गर्नुभएको छ।
बुधबार जनकपुरधाम–२४ बसहियास्थित श्री गोगलप्रसाद नमुना माध्यमिक विद्यालयमा आयोजित विज्ञान प्रदर्शनीमा बोल्दै मुख्यमन्त्री सिंहले सामुदायिक विद्यालयका योग्य शिक्षकहरूद्वारा प्रदान गरिने शिक्षाभन्दा निजी विद्यालय उत्कृष्ट रहेको धारणा गलत भएको बताउनुभयो। साथै, उहाँले श्री गोगलप्रसाद नमुना माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरेर उदाहरणीय कार्य गरिरहेको उल्लेख गर्दै अन्य सामुदायिक विद्यालयहरूले पनि यसबाट प्रेरणा लिनुपर्ने धारणा राख्नुभयो।
जनकपुरधामका नगर प्रमुख मनोजकुमार साहले जनकपुरधामलगायत धनुषाका सामुदायिक विद्यालयहरूलाई अझ सशक्त बनाउन आवश्यक रहेको बताउनुभयो।
विज्ञान प्रदर्शनीमा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै वैज्ञानिक सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक रूपमा प्रस्तुत गर्ने अवसर पाएको बताए। विद्यालयका प्रधानाध्यापक महावीर दासले सामुदायिक विद्यालयमा विज्ञान शिक्षाको प्रभावकारिता देखाउन प्रदर्शनी आयोजना गरिएको जानकारी गराउनुभयो।
प्रधानाध्यापक दासका अनुसार नेपाल सरकारले विज्ञान प्रवर्द्धनका लागि छनोट गरेको विद्यालयहरूमध्ये यो विद्यालय पनि पर्न सफल भएको छ। प्रदर्शनीमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले विभिन्न वैज्ञानिक प्रोजेक्टहरू प्रस्तुत गरेका थिए।
श्री गोगलप्रसाद नमुना माध्यमिक विद्यालयमा तीन हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।