एसपी रिपोर्टर
जनकपुरधाम, माघ ३० :
जनकपुरधाम वडा नं. ८ स्थित राजर्षि जनक विश्वविद्यालयको कानुन संकायमा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले बीए–एलएलबीका विद्यार्थीहरूलाई विशेष कक्षा सञ्चालन गर्नुभएको छ। कक्षामा सभामुख मण्डलले संघीय शासन प्रणाली, यसको अभ्यास, समावेशिताको सकारात्मक प्रभाव तथा शिक्षाको महत्त्वबारे विस्तृत रूपमा चर्चा गर्नुभयो।
विद्यार्थीहरूले सभामुख मण्डलको कक्षा प्रति उत्साह देखाउँदै संघीय शासन प्रणाली, यसका चुनौतीहरू तथा वर्तमान राजनीतिक अवस्थासम्बन्धी जिज्ञासा राखेका थिए। सभामुख मण्डलले ती सबै प्रश्नको विस्तृत उत्तर दिँदै संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउन सकिने उपायहरूबारे जानकारी गराउनुभयो।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. अमरप्रसाद यादवले कानुन निर्माण हुने संस्थाका प्रमुख स्वयंले कक्षा सञ्चालन गर्दा कानुन विद्यार्थीहरूलाई उपयोगी सिकाइको अवसर प्राप्त भएको बताउनुभयो। त्यस्तै, क्याम्पस प्रमुख डा. सरोजकुमार ठाकुरले सभामुख मण्डलले कलेजको कक्षा कोठामा पुगेर विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गर्नु सकारात्मक अभ्यास भएको बताउँदै आगामी दिनमा अन्य विषयका विज्ञ तथा जानकारलाई कक्षा सञ्चालनका लागि निम्त्याउने योजना रहेको जानकारी गराउनुभयो।
सभामुख मण्डलको राजनीतिक यात्रा शिक्षण पेशाबाट सुरू भएको हो। वर्गीय विभेदका कारण उहाँले शिक्षण पेशा त्यागेर नेकपा (माओवादी) को सशस्त्र विद्रोहमा सहभागी हुनुभएको थियो। भूमिगत रहँदा ‘मास्टर साहेब’ उपनामले परिचित मण्डल पहिलो पटक नेकपा (माओवादी) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो। दोस्रो कार्यकालमा नेकपा (एमाले) प्रवेश गरी धनुषा निर्वाचन क्षेत्र नं. १ (क) बाट पुनः प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभयो।
सभामुख मण्डलले आफू पहिला शिक्षक भएकाले विद्यार्थीहरूलाई संघीय शासन प्रणालीका विविध पक्षबारे जानकारी दिन विशेष कक्षा सञ्चालन गरेको बताउनुभयो।



