एसपी रिपोर्टर
जनकपुरधाम, माघ २२ :
नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान देशभर सुरु भएको छ। धनुषासहित मधेश प्रदेशमा समेत यो अभियान औपचारिक रूपमा शुभारम्भ गरिएको हो। १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई पाठेघरको क्यान्सरको जोखिमबाट बचाउन यो खोप प्रदान गरिँदैछ।
जनकपुरधाममा मंगलबार आयोजित कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले मधेशमा अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपालमा पाठेघरको क्यान्सरका रोगीहरू बढ्दै गएकाले खोप लगाउन आवश्यक रहेको बताउनुभयो।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा. रामनरेश पण्डितले एचपीभी खोप महिलाहरूका लागि वरदान भएको बताउनुभयो। कार्यक्रममा धनुषाका स्वास्थ्य कार्यालय प्रमुख उमेश यादव, जनकपुरधामस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका प्रमुख डा. राजेश साहलगायतको उपस्थिति रहेको थियो।
सरकारका अनुसार देशभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई यो खोप दिने लक्ष्य छ। खोप सुरक्षित र प्रभावकारी भएकाले निर्धक्क भएर लगाउन सरकारले अनुरोध गरेको छ।
यो खोप अभियान फागुन ६ गतेसम्म सञ्चालन हुनेछ। नेपालमा हरेक दिन औसत चार महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको छ। विश्वव्यापी रूपमा हरेक वर्ष ५ लाख ७० हजार महिलालाई यो क्यान्सर हुने तथ्यांक छ, जसमा ३ लाख ११ हजारको मृत्यु हुने गरेको छ। सन् २०३० सम्म यो संख्या ७ लाख पुग्ने अनुमान गरिएको छ।