एसपी रिपोर्टर
जनकपुरधाम, माघ १९ :
धनुषा जिल्लामा ५६,२८२ किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप दिने तयारी गरिएको छ। स्वास्थ्य कार्यालय धनुषाका अनुसार, ५४२ खोप केन्द्रमार्फत कक्षा ६ देखि १० सम्मका छात्रा तथा १० देखि १४ वर्ष उमेरका विद्यालय बाहिर रहेका बालिकालाई खोप दिइनेछ।
खोप अभियानका चरणहरू:–
- पहिलो चरण (माघ २३ देखि): जनकपुरधाम उपमहानगरपालिका, नगराइन, हंसपुर, मिथिला नगरपालिका लगायत।
- दोस्रो चरण (फागुन १-६): धनौजी, औरही, विदेह, धनुषाधाम लगायतका पालिका।
नेपाल सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म देशव्यापी एचपीभी खोप अभियान सञ्चालन गर्दैछ, जसअन्तर्गत ३७० विद्यालयमा किशोरीहरूलाई खोप लगाइनेछ।
नेपालमा दैनिक ४ महिलाको पाठेघरको क्यान्सरका कारण मृत्यु हुने गरेको छ। विश्वभर सन् २०३० सम्म वार्षिक ७ लाख महिलामा यो रोग देखिने अनुमान छ। सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामलाई प्राथमिकता दिँदै यो खोप अभियान सञ्चालन गरेको हो।