एसपी रिपोर्टर
जनकपुरधाम, माघ १३ :
नेपालबाट कुष्ठरोग निवारण भएको डेढ दशक बितिसक्दा पनि मधेश प्रदेशमा यो रोग ठूलो जनस्वास्थ्य समस्याको रूपमा रहेको छ। नेपालमा प्रति १० हजार व्यक्तिमा ०.९२ जना कुष्ठरोगी छन् भने मधेश प्रदेशमा यो संख्या १० हजारमा २ जना रहेको छ। मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यस क्षेत्रमा कुष्ठरोगको संक्रमण अझै व्यापक रहेको छ।
७२औं विश्व कुष्ठरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय धनुषाले बीएनएमटीलगायत संस्थाको सहकार्यमा जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मधेश प्रदेशमा कुष्ठरोगका नयाँ केसहरू फेला पर्ने दर उच्च रहेको औंल्याइएको छ। हाल नेपालमा नयाँ फेला परेका कुष्ठरोगीहरूको संख्या २ हजार ४ सय ७२ रहेको छ भने उपचाररत रोगीको संख्या २ हजार ७ सय ६ रहेको छ। तीमध्ये नयाँ संक्रमितहरूमा १४ वर्षमुनिका १३६ बालबालिका रहेका छन्।
मधेश प्रदेशमा खुला सिमाना र जनसङ्ख्याको अत्यधिक चापका कारण कुष्ठरोगको निवारण चुनौतीपूर्ण बनेको छ। रोग लुकाउने सामाजिक परिपाटी र ढिलो गरी उपचार गर्न आउने प्रवृत्तिले रोगीहरूको अवस्थामा अङ्गभङ्गको समस्या देखिने गरेको चिकित्सकहरूले बताएका छन्।
नेपाल सरकारले कुष्ठरोगको उपचार र औषधि निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ। धनुषा स्वास्थ्य कार्यालयका प्रमुख उमेश यादवले कुष्ठरोगको आशंका भएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन्। उपचारका क्रममा रोगीको विवरण गोप्य राखिने भएकाले कुनै डर या हिच्किचाहट नराखी जाँचका लागि आउन यादवले अपिल गरे।
स्वास्थ्य कार्यालय धनुषाका फोकल पर्सन महेश साहले शरीरमा कुनै फुस्रो दाग वा अन्य समस्या देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न र कुष्ठरोगको खोजीमा स्थानीय तहले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। बीएनएमटीका चिकित्सक डा. मनोज साहका अनुसार मधेश प्रदेशमा रोग लुकाउने चलनका कारण वास्तविक संक्रमितहरूको संख्या अझै बढी हुन सक्ने आशंका छ।