एसपी रिपोर्टर
जनकपुरधाम, माघ १२ :
जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालय अन्तर्गत विश्वविद्यालय क्याम्पसले नयाँ विद्यार्थीलाई स्वागत र पुराना विद्यार्थीलाई बिदाई गरेको छ। क्याम्पस परिसरमा आयोजित कार्यक्रममा विषय शिक्षकहरूले नयाँ विद्यार्थीहरूलाई टीका र खादा लगाएर स्वागत गरेका थिए भने पासआउट विद्यार्थीहरूलाई सम्मानपूर्वक बिदाई गरिएको थियो।
समारोहमा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. अमरप्रसाद यादवले केही वर्षअघिसम्म विभिन्न समस्याले ग्रस्त यो विश्वविद्यालयलाई आफूले छोटो समयमा नै लयमा ल्याउन सफल भएको बताए। उनले विश्वविद्यालयका लागि आवश्यक भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे।
रजिष्ट्रार सत्यनारायण साहले विश्वविद्यालयको प्रगति र शैक्षिक गतिविधिहरूलाई नियमित गर्न भएका प्रयासबारे प्रकाश पार्दै विश्वविद्यालयको उन्नतिका लागि आफ्नो पूर्ण प्रतिबद्धता रहेको बताए।
क्याम्पस प्रमुख डा. सरोजकुमार ठाकुरले नयाँ विद्यार्थीहरूलाई आफ्नो अध्ययनबाट समाज र राष्ट्रका लागि योगदान दिने प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे। उनले पासआउट विद्यार्थीहरूलाई आफूले हासिल गरेको ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरे।
त्यस्तै, स्ववियु सभापति प्रवेश यादवले विद्यार्थीहरूको समस्या समाधानमा स्ववियुको सक्रिय भूमिका रहने बताउँदै राष्ट्र र समाजको भविष्य निर्माणमा विद्यार्थीहरूको योगदान महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।
समारोहमा छात्र-छात्राहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई झन् आकर्षक बनायो।
कार्यक्रममा विश्वविद्यालयका विभिन्न संकायका डीनहरू प्राध्यापक डा. सुदीप यादव, डा. अजय झा, डा. नरेन्द्र कटुवाल, डा. विनोद साह, अनुसन्धान केन्द्रका निर्देशक डा. मनोजकुमार यादव, राजर्षि जनक अध्ययन अनुसन्धान केन्द्रका निर्देशक प्राध्यापक डा. रामखेलावन साह, परीक्षा नियन्त्रक डा. रत्नेश्वरकुमार कर्ण, सहनियन्त्रक विनोदकुमार कर्ण र दीलिपकुमार यादव लगायत विभिन्न प्राध्यापक, सहायक प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
यस वर्ष एमबीए, बीएएलएलबी, बीएस्सी-सीएसआईटी, बीबीए, बीडीबीएम, बीपीएच, बीएमएलटी, बीसीए, बीजेएमसी लगायतका नयाँ विद्यार्थीहरूलाई स्वागत गरिएको थियो। साथै, बीएस्सी-एमसीटी, बीबीए, बीएस्सी-सीएसआईटी र बीसीए पासआउट विद्यार्थीहरूलाई बिदाइ गरिएको थियो।