एसपी रिपोर्टर
जनकपुरधाम, पुष ५ :
युवाहरुबीच असल अभ्यासको सिकाई आदान प्रदान बारे प्रदेशस्तरीय सिकाई कार्यशाला सम्पन्न भएको छ ।
यूरोपियन यूनियनको आर्थिक सहयोग र हेवलटासको सहकार्यमा धनुषाको मिथिला नगरपालिका बडहरीमा सहयोगी समाज नेपालद्वारा मधेश प्रदेशका युवाहरुबीच समकक्षीय सिकाई विषयक उक्त कार्यशाला सम्पन्न भएको हो ।
समाजद्वारा सञ्चालित स्थानीय शासन प्रक्रियामा युवाको संलग्नता परियोजना अन्तर्गत आयोजित यो कार्यशालामा मधेश प्रदेशका ८ वटै जिल्लाबाट युवा क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधि सहितका सामाजिक विकास क्षेत्रमा काम गर्ने ७२ जना युवाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले युवाहरु प्रदेश विकासको सम्वाहकको रुपमा काम गर्दै आएको बताए ।
उनले भने देश तथा प्रदेशको विभिन्न विकासमा युवाहरुको भूमिका सराहनीय छ । नेतृत्व विकासदेखि सुशासनमा समेत युवाहरुको असल अभ्यास सराहनीय छ । अझ असल अभ्यासका कुराहरु औल्याउन आवश्यक छ ।
आयोजक संस्था समाजका अध्यक्ष हरिबहादुर थापाले कार्यक्रम बारे जानकारी दिदैं भने असल अभ्यास अन्तर्गत युवाहरुले क्षमता विकास, नेतृत्व विकास र स्थानीय तहसँग सुशासन तथा विकास बारे सिकेका कुराहरु यो कार्यशाला मार्फत आदान प्रदान गरेको हो ।
तीन वर्षदेखि संचालित उक्त परियोजना धनुषाको क्षिरेश्वरनाथ नगरपालिका , सर्लाहीको हरिऔन र बरहथवा नगरपालिकामा संचालित रहेको छ । कार्यक्रम अन्तर्गत युवा सञ्जाल गठन गरी युवाहरुको क्षमता सहित नेतृत्व विकासमा काम गर्दै आएको छ ।