एसपी रिपोर्टर
जनकपुरधाम, पुष ४ :
संघ सरकारले शिक्षा ऐन अबिलम्ब ल्याउनुपर्ने माग गर्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । ६ वटा प्रदेशमा शिक्षा ऐन अबिलम्ब ल्याउनुपर्ने माग गर्दै आन्दोलनमा रहेका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाई बिहिबार मधेसको राजधानी जनकपुरधामस्थित जनक चोकमा दिनभरी उभिएर आन्दोलन गरेका हुन् ।
शिक्षा ऐन नआउँदा देशैभरी शिक्षामा बेथिति देखिएको भन्दै अबिलम्ब शिक्षा ऐन ल्याउन माग गर्दै चापागाईले जनक चोकमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उभिएर आन्दोलन गरेका हुन् ।
नेपालको २०७२को संविधानले ३ वर्ष भित्रै शिक्षा ऐन ल्याउन भनेपनि ९ वर्षभन्दा बढी समय हुँदा समेत शिक्षा ऐन ल्याउन नसक्नु दुःखद रहेको उनको भनाई थियो । उनले संघ सरकारले शिक्षा ऐन नल्याउँदा न प्रदेश सरकारहरु र न स्थानीय सरकारहरुले आफ्नो शिक्षा ऐन ल्याउन सकेका छैनन्, जसले गर्दा शिक्षामा देशैभरी बेथिति बढेको छ । इसिडी सम्बन्धी मागलाई लिएर हामीसंग भएका सहमति आउन लागेको शिक्षा विधेयकमा छुटेकाले त्यसको सम्बोधन हुनुपर्ने, छात्रवृति रकम ५ हजार पुर्याउनुपर्ने लगायतका १५ बुँदे माग राख्दै आफू आन्दोलनमा रहेको उनले बताए । माग सम्बोधन नभए आउने दिनमा थप सशक्त कदम चाल्ने उनले बताए ।