एसपी रिपोर्टर
जनकपुरधाम, असार १४ : नगरक्षेत्र भित्र अवैध विद्यालयको बिगबिगी बढे सँगै नीजि विद्यालयहरुको छाता संगठन प्याब्सन,एनप्याब्सन तथा हिसानले त्यस्ता विद्यालयहरू तत्काल बन्द गर्न आग्रह गर्दै बुधवार जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहलाई ध्यानाकर्षण गराएका छन् ।
२०८० सालमै नगरपालिकाका पदाधिकारी तथा बिधालय सञ्चालकहरू मिलेर एक समिति निर्माण गरी नगर क्षेत्र भित्र थुप्रै विद्यालयमा अनुगमन गर्दा १४ वटा अवैध बिधालय फेला परेको थियो। अनुगमन गरेको एक वर्ष बितिसक्दा समेत ती विद्यालयहरू हाल सम्म संचालित रहेको प्रति बिधालय सञ्चालकहरू उपमहानगरपालिकाका मेयर मनोज साह सँग गुनासो व्यक्त गरेका थिए ।
विद्यालयहरुले आफ्नो विद्यालयमा अनिवार्य भर्नु पर्ने ईमिसमा त्यस्ता अवैध विद्यालयहरूबाट आएका विद्यार्थीहरूको इमिस भर्न नसकेकोले पछि ती विद्यार्थीहरू समेत अवैध ठहर हुने भन्दै मेयर साहलाई ध्यानाकर्षण गराएका थिए। मेयर साहले यी समस्याहरुको निदानकालागि तीन दिन भित्रै प्रक्रिया अगाडि बढाउने बताए । ईमिसको समस्या कसरी समाधान हुन्छ सो बारे शिक्षा शाखाका कर्मचारीसहित सामुहिक छलफल गरी निर्णय गर्ने र सो तत्काल समाधान हुने साहले आश्वासन दिए । एनप्याब्सन जनकपुरधामका नगर अध्यक्ष दीपक ठाकुरको नेतृत्वमा प्याब्सन सहित हिसानले समेत एक्यवद्धता जनाएका थिए ।
ध्यानाकर्षण पत्रमा जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत सञ्चालित निजी विद्यालयहरुमध्ये १४ वटा विद्यालयले अनुमति नलिई दर्ता बिना नै संचालन गर्दै आएकोमा बन्द गर्ने प्रयोजनार्थ विगत १ वर्ष अघि मिति २०८० साल जेठ महिनामा जनकपुरधाम उपमहानगरपालिका शिक्षा शाखाका पदाधिकारीलगायत अन्य सरोकारवाला व्यक्तिहरुले अनुगमन गरी तत्काल त्यस्ता विद्यालयहरु बन्द गर्ने निर्णय पारित भए तापनि हालसम्म बन्द नभएका र कक्षाहरु विगत सालमा जस्तै निर्वाधरुपमा सञ्चालन भइरहेका हुँदा हजारौ बालबालिकाहरुको भविष्य अन्धकारतिर धकेलिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
निजी विद्यालयमा अवैध ठहर गरिएका मध्ये ज्ञानगंगाले अवैध रुपमै जनकपुरधाम उपमहानगरपाकिाका शिक्षा शाखााकाबाट कर्मचारीहरुको मिलोमतोमा ईमिस आईडी समेत प्राप्त गरिसकेको स्रोतले जनाएको छ । पटकपटक अनुगमन भए तापनि गैरकानुनी रुपमा सञ्चालित विद्यालयहरुले हालसम्म अटेर गरी कक्षा स्तरोन्नति गरी धमाधम विद्यार्थी भर्ना गरिरहेकाले यस्ता माानवीय भविष्य नै अन्योलमा पार्ने जस्ता कार्यहरु रोक्नका लागि माग पत्र मार्फत गरिएको छ ।
गैरकानुनीरुपमा सञ्चालित विद्यालयहरु बन्द नभएमा आगामी दिनहरुमा कडाभन्दा कडा आन्दोलन गर्न समेत पछि नहट्ने चेतावनी समेत पत्र मार्फत दिइएको छ । धनुषा एन प्याब्सनका प्रमोद अग्रवाल र महेश मण्डलले एकातिर सरकारले माध्यमिक तहको शिक्षा पूर्णतः निशूल्क रहेको भए पनि उपमहानगरपालिका भित्रै सामुदायिक विद्यालयहरुले आर्थिक सहयोगको नाममा विद्यार्थीहरुबाट मोटो रकम लिएर पढाईरहेको दुर्भाग्यपूर्ण अवस्था रहेको गुनासो पोखे । उनले श्री गोगल प्रसाद नमुना माध्यमिक बिधालय र श्री याज्ञवल्क्य ज्ञानकुप माध्यमिक विद्यालयमा भईरहेको अंग्रेजी माध्यमको अध्ययन अध्यापन प्रति इशारा गर्दै सो गुनासो पोखका थिए ।