एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १२ :
शिक्षा क्षेत्रमा उत्कृष्ट शिक्षण सिकाईको पद्धति के हुन सक्छ त्यो खोज्ने अभिप्रायले काठमाडौँको लिट्ल एन्जल्स कलेज अफ मैनेजमेन्टले जनकपुरधाममा एक दिने कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।
काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिट्ल एन्जल्स कलेजले सामाजिक दायित्व अन्तर्गत शिक्षण सिकाईको उत्कृष्ट पद्धतीको खोजी गर्ने अभिप्रायले जनकपुरधाममा शनिवार कार्यशालाको गोष्ठीको आयोजना गरेको थियो । जनकपुरधामका विभिन्न कलेज, स्कुल तथा विश्वविद्यालयका शिक्षकहरुलाई राखेर शिक्षण सिकाईको उत्कृष्ट पद्धतीको विषयमा गोष्ठीकै माध्यमले छलफल गरिएको थियो ।
गोष्ठीमा शिक्षण सिकाईमा देखिएका चुनौती, विश्वमै रहेको उत्कृष्ट शिक्षण सिकाईका पद्धतीहरुको विषयमा चर्चा गरिएको लिट्ल एन्सजल्स कलेज अफ मैनेजमेन्टका प्रधानाध्यापक मित्रबन्धु पौडेलले बताए । उनले कुनै क्षेत्रको विकासका लागि त्यहाँको मौलिकताका विषयमा विद्यालय स्तरबाटै विद्यार्थीहरुमा ज्ञान हुनु आवश्यक रहेको बताए । जनकपुरधाम धार्मिक पर्यटनको हब बन्न सक्छ, पौडेलले भने ‘यहाँ रामायण सर्किटको काम हुँदैछ, जनकपुरधामको मत्स्य पालन, मिथिला चित्रकला लगायतका थुप्रै विषयमा केस स्टडीको माध्यमले शिक्षण सिकाईमा शामिल गर्न सकिने छ ।’ यसले पनि व्यवसायिक रुपमा विकास गर्न मद्दत पुर्याउने उनको भनाई थियो ।
यसका साथै जनकपुरधाममा शिक्षण सिकाईको क्षेत्रमा थुप्रै कामहरु गर्न बाँकी रहेको उनले बताए । अहिले पनि यहाँका विद्यालयहरु विद्यार्थीको सर्वांगिण विकासको दिशामा काम गर्नुको साटो परिक्षा केन्द्रित शिक्षामै लागेकोमा गुनासो गरे ।