एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ७ :
जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा चिटचोरी बारे भएको घटनाको सत्यतथ्य छानबीन गर्न विद्यार्थी संघ संगठनहरुले माग गरेका छन् ।
आइतवार लोकतान्त्रिक विद्यार्थी संघ र समाजवादी विद्यार्थी युनियनले संयुक्त रुपमा एक पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन । उनीहरुले गएको वैशाख २८ गतेका दिन बीबीएस दोश्रो वर्षको परीक्षाका दिन विद्यार्थी परीक्षा हल बाहिर रहेको अवस्थमा स्ववियू सदस्य दिपेन्द्र कुमार राउतले परीक्षा निरिक्षक जगरनाथ सिंहको सहयोगमा कपी सेट गरेको घटनाको सत्यतथ्य छानबीन गर्न माग गरेको हो ।
उनीहरुले क्याम्पसको साख बचाउन यस्ता क्रियाक्लाप रोक्न स्ववियू कार्यालयमा तालाबन्दी गर्दा बाहिरको लठैत विद्यार्थी नै नभएका व्यक्ति लगाएर ताल्चा फुटाउंदा आफूहरुले प्रतिकार गर्दा विवाद उत्पन्न भएको र प्रहरीले दुवै पक्षलाई वार्ताको माध्यमबाट विवाद समाधान गर्न भनी छोड्यो । तर क्याम्पस प्रमुखले चासो नलिइएको आरोप लगाए ।
उनीहरुले कपि सेट गर्ने स्ववियू सदस्य दिपेन्द्र कुमार राउत र परीक्षा निरिक्षक जगरनाथ सिंहलाई निलम्बन गर्न माग गरेका छन् । सबूत प्रमाण हुँदाहुँदै दोषीलाई उम्काउने प्रयास क्याम्पस प्रमुखबाट भइरहेको लोवि संघ राराब क्याम्पसका अध्यक्ष अजय पण्डितले आरोप लगाए । यस्तै समाजवादी विद्यार्थी युनियन राराब क्याम्पसका गौतम यादवले राराब क्याम्पसमा भइरहेको चिटचोरी र बाहिर रहेका विद्यार्थीको कपि सेट लगायतका घटना यथाशिघ्र बन्द गर्न माग गरे ।
पत्रकार सम्मेलनमा उपस्थित लोसपा नेता ज्ञानेन्द्र झा ज्ञानुले पत्रकार सम्मिलित छानबीन टोली गठन गरी घटनाको सत्यतथ्य छानबीन गरी दोषी देखिएकालाई कानून बमोजिम कारवाही गर्न सम्बन्धित निकायसँग माग गरे ।