एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १८: नयाँ शैक्षिक सत्रको भर्ना अभियान अन्तर्गत जनकपुरधामको याज्ञवल्क्य संस्कृत नमूना माविमा प्रवेश परिक्षा लिइएको छ । विद्यालयमा भर्नाका लागि कक्षा ४देखि कक्षा ९सम्म आवदेन दिएका ७१६ विद्यार्थीहरु प्रवेश परिक्षामा सहभागी भएको विद्यालयका प्रधानाध्यापक संजय झाले जानकारी दिए ।
कक्षा ४ देखि कक्षा ९सम्म विद्यालयमा भर्नाका लागि ४ सय ७८ छात्र र २ सय ३९ छात्राहरुले प्रवेश परिक्षा दिएका हुन् । प्रवेश परिक्षामा उतीर्ण हुने विद्यार्थीहरुलाई वैशाख २० गतेदेखि वैशाख २५ गतेसम्म भर्ना लिइने प्रधानाध्यापक झाले बताए । भर्ना संगै वैशाख २६ गतेबाट नयाँ शैक्षिक सत्रको कक्षा संचालनमा ल्याइने उनले बताए ।
उनका अनुसार प्राविधिक तर्फ विद्यालयमा रहेको ४८ जना विद्यार्थीको कोटाका लागि १ सय ७६ विद्यार्थी सहभागी भएका थिए । कक्षा १देखि कक्षा ३सम्मका लागि विद्यालयमा २ सय ७ छात्र र १ सय ८४ छात्रा गरी ३ सय ९१ विद्यार्थीहरुको आवदेन परेको थियो । कक्षा १ देखि कक्षा ३सम्म प्रवेश परिक्षा बिनै भर्ना लिइने प्रावधान रहेको प्रधानाध्यापक झाले बताए ।
यस अघि विद्यार्थी भर्ना अभियान अन्तर्गत याज्ञवल्क्य संस्कृत नमूना माविले वैशाख ३ गतेदेखि वैशाख १७ गतेसम्म आवदेन आह्वान गरेको थियो । विद्यालयमा गत शैक्षिक सत्रमा शिशु कक्षादेखि कक्षा १२ सम्ममा कुल २ हजार ४ सय ३२ विद्यार्थी अध्ययनरत थिए ।
याज्ञवल्क्य विद्यालयमा पछिल्लो समय बढ्दै गईरहेको विद्यार्थीहरुको आकर्षण देखेर अधिकांश अभिभावक यो विद्यालय आफ्नो विद्यार्थीहरुलाई भर्ना गराउँदै आईरहेका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले राम्रो परिणाम निकालेको देखेर आफूले निजि विद्यालयमा अध्ययनरत दुई छोराको नामांकन यो विद्यालयमा संचालन भएको प्रवेश परिक्षामा सहभागी गराउन लगाएको एक अभिभावकले बताए ।