एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १३ :

यही वैशाख १६ गतेदेखि देशभरसहित धनुषा जिल्लामा पनि हात्तिपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान सुरु हुने भएको छ । जिल्लाका १८ वटै स्थानीय तहहरुमा वैशाख १६ गतेदेखि २९ गतेसम्म १५ दिने हात्तीपाइले विरुद्धको आम औषधी खुवाईने अभियान सुरु हुने जनाइको छ ।
जिल्लामा ८ लाख ७४ हजार जनालाई हात्तीपाइले औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश कुमार यादवले जनाएको छ । अभियान जिल्लाको १८ वटै पालिका, प्रत्येक स्वास्थ्य संस्था र विद्यालयसहित घरदैलोमा गई स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकाले औषधि खुवाउने बिहीवार एक पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिए । यो पटक ७ सय स्वास्थ्यकर्मी र ९४५ महिला स्वयंसेविका समेतलाई परिचालन गरिने बताउंदै उनले अभियान सफल पार्न सबैलाई औषधी सेवन गरी सहयोग गरिदिन उनले अनुरोध गरे ।
अभियान सफल पार्न पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले औषधि खाँदा मर्ने वा खराबी नगर्नेबाट ढुक्क रहन सन्देश दिन स्वयं औषधि खाएर शुरुवात गरेका थिए । हातीपाइले रोगमा विभिन्न तीन थरिका औषधि खुवाइन्छ । जसमा आइभरमेक्टीन, डाइ इथाइल्कारबामजिन तथा अबेन्डाजोल रहेका छन् ।
दासले औषधि बारे जानकारी दिदै भने खाली पेटमा सेवन गरेमा कसै कसैलाई वाक वाकी लाग्ने, बान्ता हुने, रिगटा लाग्ने हुन सक्छ । खाना खाएर वा नास्ता खाएर औषधीको सेवन गर्दा खासै साइड इफेक्ट हुँदैन । दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिन सम्मका सुत्केरी र सिकिस्त बिरामीले औषधी सेवन गर्न नहुने स्वास्थ्य कार्यालयका दासले जानकारी दिए ।
देशभरका ७ जिल्ला मात्रै हातीपाइले रोगमुक्त हुन सकेको छैन । मधेशका प्रदेशका धनुषा, महोत्तरी, रौतहट र सर्लाही सहित देशका झापा, रसुवा र कपिलवस्तुमा हातीपाइले विरुद्धको औषधि खुवाइने उनले बताए ।
हातीपाइले रोगबाट बच्न आइभरमेक्टीन, डाइ इथाइल्कारबामजिन तथा अबेन्डाजोलसहितका प्रकारका औषधि खुवाईन्छ । यी तीन थरिका औषधिहरुको प्रयोगले हातीपाईले रोग लागिसकेकाहरुको प्रभावकारी रुप उपचार हुनुका साथै रोग लाग्नबाट समेत बचाउँछ । तीन प्रकारको औषधिले कामपनि तीन थरिको गर्छ । आइभरमेक्टीनले परजीवी घटाउने काम गर्छ, डाइ इथाइल्कारबामजिनबाट व्यवस्क जुका मारिन्छ भने अबेन्डाजोलले जुकाहरुको प्रजनन क्षमता घटाउने काम गर्छ ।