एसपी रिपोर्टर
जनकपुरधाम, चैत २८ :
होमियोप्याथिक चिकित्सा पद्धतिको विकास र उत्थानका लागि अल नेपाल होमियोप्याथिक एशोसिएशन मधेश प्रदेशले विभिन्न ६ बुँदे माग मधेश सरकार समक्ष अघि सारेका छन् ।
विश्व होमियोप्याथिक दिवस र २६९ औं हैनिमन जयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा होमियोप्याथिक एशोसिएसन मधेश प्रदेशले मधेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुध्न सिंहलाई ज्ञापन मार्फत आफ्ना माग अघि सारेका हुन् ।
एशोसिएसनका सचिव डा. सजिव कर्णले होमियोप्याथिक चिकित्सा पद्धतिको विकासका लागि कार्यरत होमियोप्याथिक चिकित्ससहित दरबन्दी श्रृजना गरी थप चिकित्स स्थायी नियुक्ति, होमियोप्याथिक प्रादेशिक बोर्ड गठन, शिविर संचालन र बजेट बढाउन लगायतका माग गरिएको बताए ।
होमियोप्याथिक चिकित्सा पद्धतिले निकै फड्को मारेको दाबी गर्दै प्रदेश सरकारले प्रदेशका जिल्ला अस्पतालहरुमा सेवा प्रवाह गरेदेखि हजारौ बिरामीले सेवाको लाभ लिएका यसको थप विकासका लागि प्रदेश सरकार ध्यान दिन आवश्यक रहेको ज्ञापन पत्रमा भनिएको छ ।
एशोसिएसनले राखेको माग बारे प्रदेश सरकार होमियोप्याथिक चिकित्सा पद्धतिको विकासका लागि स्वास्थ्य मन्त्रालयले एशोसिएसनका पदाधिकारी तथा विज्ञहरु राखेर छुटै कार्ययोजना बनाएर अघि बढने बताउंदै आउंदो आर्थिक वर्षमा बजेट समेत बढाउने प्रतिबद्धता जनाए ।
कार्यक्रमका विशिष्ट अतिथि एशोसिएसनका केन्द्रिय उपाध्यक्ष विरोध महतोले होमियोप्याथिक चिकित्सा पद्धति विश्वभरि फैलिएको र यसले विश्व स्वास्थ्य संगठनबाट एलोप्याथिकको वैकल्पिक पद्धतिको अन्तराष्ट्रिय मान्यता पाइसकेपनि नेपालमा निकै पछाडि परेकाले यसको विकासमा प्रदेश सरकारले जोड दिनुपर्ने बताए ।
एशोसिएसनका प्रदेश अध्यक्ष मुन्ना कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी होमियोप्याथिक चिकित्सकहरुले प्रदेश सरकारले प्रदेशका ८ वटै जिल्ला अस्पतालमा होमियोप्याथिक सेवा प्रवाह गरेपनि मात्र एउटा चिकित्सकको भरमा संचालन हुँदै आएकोमा फार्मेशी र सहयोगी तत्काल व्यवस्थापन गरिदिन अन्य वक्ताहरुले माग गरेका थिए ।