एसपी रिपोर्टर
जनकपुरधाम, चैत २३:
नेपाल शिक्षक संघ धनुषाको २४औँ जिल्ला प्रतिनिधि सभा सम्पन्न भएको छ । जनकपुरधाममा शुक्रबार आयोजित एक कार्यक्रमका बिच संघले जिल्ला प्रतिनिधि सभा सम्पन्न गरेको हो ।
सभाको नेपाल शिक्षक संघको केन्द्रिय अध्यक्ष सोमनाथ गिरीले उदघाटन गरेका थिए । सभाको उद्घाटन गर्दै गिरीले शिक्षकहरुको हक अधिकारका सवालमा हामी सबै एक ढिक्का हुनु आजको आवश्यक्ता रहेको बताए । यसका साथै उनले विधि र पद्धतीमा रहेर संगठनलाई चलायमान बनाउन तर्फ संघमा आवद्ध शिक्षकहरुलाई आग्रह समेत गरे ।
नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष रामसिनेही यादवले धनुषा जिल्लामा रहेका शिक्षकहरुको समस्या, संघको जिल्लामा वर्तमान स्थिति तथा आगामी रणनीतिको विषयमा छलफल भएको जानकारी दिए । सभामा छलफलबाट आएका विषयहरु केन्द्रमा पठाइने र सो को सम्बोधनका लागि पहल गरिने बताए ।
सभामा नेपाल शिक्षक संघका उपाध्यक्ष छोटेलाल प्रसाद साह, महासचिव ज्ञानेन्द्रबहादुर रावल, नेपाल शिक्षक संघ मधेसका अध्यक्ष परशुराम यादव, नेपाल शिक्षक संघ धनुषाको सल्लाहकार समितिका संयोजक मेघनाथ यादव लगायतले बोलेका थिए ।
सभामा जिल्लाका विभिन्न पालिकामा उत्कृष्ट काम गर्ने संघको पालिका कमिटीहरुलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।