एसपी रिपोर्टर
जनकपुरधाम, चैत १० :
एसइइ परीक्षाको मात्र ४ दिन बांकी रहेको अवस्थामा तोकिएको परीक्षा केन्द्र कट्टा गरी अर्को विद्यालयमा सारेकोमा धनुषाका प्रधानाध्यापकहरु विरोधमा उत्रेका छन् ।
धनुषाको सबैला नगरपालिकास्थित फकिरचन्द गामी माध्यमिक विद्यालयको परीक्षा केन्द्र कट्टा गरी शिक्षा विकास तथा समन्वय इकाई समितिले सोही नगरपालिकाको ठिल्लामा सारेपछि जिल्लाका २६ माविका प्रधानाध्यापकहरु विरोधमा उत्रेका छन् ।
उनीहरुले राष्ट्रिय परीक्षा बोर्डद्वारा कायम गरिएको फकिरचन्द्र गामी माध्यमिक विद्यालयको परीक्षा केन्द्र अन्य ठाउँमा सार्न पाइदैन भन्दै तोकिएको परीक्षा केन्द्र कायम नगरिए आफूहरु एसइइ परीक्षामा केन्द्राध्यक्षको भूमिकामा सहभागी नहुने चेतावनी दिए ।
नेपाल शिक्षक संघका केन्द्रिय सदस्य मेघनाथ यादवले भने परीक्षाको सबै तयारी पूरा भइसेको अवस्थामा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले परीक्षा केन्द्र सार्नु गलत रहेकाले आफूहरु विरोधमा उत्रेको बताए । उनले भने परीक्षाका लागि कापी र प्रश्नपत्र समेत स्थानीय प्रहरी निकायमा पुगिसकेको र विद्यार्थीहरु पनि आ आफ्नो व्यवस्था तोकिएको स्थानमा गरिसकेको अवस्थामा परीक्षा केन्द्र नै सार्नुले सबैलाई समस्या हुन गएको छ । साथै उनले आफूहरुको समस्या बारे जिल्ला शिक्षा परीक्षा समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारील आफूहरुको मागलाई बेवास्ता गरेको आरोप समेत लगाए ।
यस्तै मावि धनुषाधामका रामपुकार यादवले आफूहरुले बरकुर्वा माविमा परेको परीक्षा केन्द्र अनुसार तयारी गरेको थिए । विद्यार्थीहरु पनि सोही अनुसार परीक्षा अवधि भरको बासको तयारी पनि गरेको थियो । तर अन्तिम समयमा आएर परीक्षा केन्द्र नै ठिल्ला सारेपछि विद्यार्थीहरुलाई निकै समस्या भएको बताए ।





