एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १७ :
निजि विद्यालयहरुको संगठन प्याब्सन तथा एनप्याब्सनको संयुक्त आयोजनामा एथलेटिक्स टुर्नामेन्ट शुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले उदघाटन गरेको प्रतियोगिता दुई दिनसम्म चल्ने छ ।
२२ वटा निजि विद्यालयहरुको सहभागितामा शुरु भएको प्रतियोगितामा एथलेटिक्स अन्तर्गतका ३ खेलको आयोजन हुनेछ । टुर्नामेन्टमा ट्रैक अन्तर्गत १ सय मिटर, २ सय मिटर, ३ सय मिटर र ४ सय मिटर दौड प्रतियोगिताको आयोजना हुने छ । त्यस्तै ज्याब्लिंग थ्रो, शटपुट थ्रो र हाइ जम्प तथा लंग जम्पको आयोजना हुनेछ ।
कक्षा १०सम्मका विद्यार्थीहरुको सहभागिता रह्ने यो प्रतियोगिता सिनियर ब्वाइज, सिनियर गल्र्स, जुनियर ब्वाइज र जुनियर गल्र्स गरी ४ क्याटोगोरीमा आयोजना हुने एनप्याब्सन धनुषाका अध्यक्ष आशिष झाले जानकारी दिए । ४४ विद्यालयबाट लगभग १ हजार विद्यार्थीहरुको सहभागिता रहेको छ ।
प्रतियोगिता उदघाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नगरप्रमुख साहले जनकपुरधाममा खेललाई बढावा दिनका लागि उपमहानगरको वार्षिक क्यालेण्डरमै शामिल गर्ने जानकारी दिए । यस प्रकारका प्रतियोगिताहरुलाई विद्यालयहरुले निरन्तरता दिदै खेलाडी निर्माण गर्न तर्फ केन्द्रित हुनु आवश्यक रहेको नगरप्रमुख साहले बताए ।
एनप्याब्सन जनकपुरधाम नगर समितिका अध्यक्ष दीपक ठाकुर अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन जनकपुरधाम नगर समितिका अध्यक्ष रविन्द्र चौधरी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।
यता प्रतियोगिताको नियम उल्लंघन गर्दै उच्छृंखल कृयाकलाप गरेको भन्दै प्रतियोगिताबाट जनकपुर पब्लिक स्कुललाई निश्कासन गरिएको छ ।