एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ९ :
जनकपुरधाम उपमहानगरपालिकामा फागुन १३ गतेदेखि दादुरा रुबेला बिरुद्धको खोप अभियान संचालनमा ल्याइने भएको छ । ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई लक्षित गरी स्वास्थ्य कार्यालय धनुषा र पालिकाको स्वास्थ्य शाखाको संयोजनमा पालिका भरी दादुरा रुबेला बिरुद्धको खोप अभियान संचालनमा ल्याउन लागिएको जानकारी जनकपुरधाम उपमहानगरपालिकाको स्वास्थ्य शाखाको प्रमुख नविन कुमार मिश्रले जानकारी दिए । जनकपुरधाममा फागुन १३ गतेदेखि फागुन २१ गतेसम्म संचालनमा ल्याइने उनले बताए ।
अभियानलाई लक्षित गरी जनकपुरधाम उपमहानगरपालिकामा आयोजना गरिएको स्थानीय तह स्तरीय खोप समन्वय समितिको बैठक एवं अभिमुखिकरण गोष्ठीमा पहिलो चरणमा ९ महिनादेखि १५ वर्षसम्मका १ लाख २५ हजार १ सय ९ बालबालिका र दोस्रो चरणमा १ लाख १ हजार ८ सय ५१ बालबालिकालाई खोप लगाइने जानकारी स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेव यादवले जानकारी दिए ।
कार्यक्रमको अध्यक्षता गरेका जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले देशभरीका लगभग सबै पालिका पूर्ण खोप घोषणा भई सकेको समयमा जनकपुरधाम उपमहानगरपालिका पछाडी पर्नु चिन्ताको विषय रहेको बताए । उनले जनकपुरधाम उपमहानगरपालिकालाई पूर्ण खोप घोषणा गर्ने गरी काम अगाडी बढाउन आग्रह गरे । कोही बालबालिका खोपबाट बञ्चित नहोस त्यसका लागि घर घर समेत पुग्न नगरप्रमुख साहले आग्रह गरे ।