एसपी रिपोर्टर
जनकपुरधाम, पुस ८ :
जनकपुरधामस्थित निजी विद्यालय सिद्धार्थ शिशु सदनले विभिन्न कार्यक्रम गरी आफ्नो ४३ औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।
वार्षिकोत्सवको तीन दिने कार्यक्रम अन्तर्गत रक्तदान, विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, शिल्प (क्राफ्ट), कम्प्यूटर प्रविधि प्रदर्शनी सहित खाद्यान्न मेला र अनाथ आश्रम, मानव सेवा आश्रम तथा वृद्धा आश्रमलाई सहयोग सहितका कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवार विद्यालयका शिक्षक, पत्रकार तथा शुभेच्छुक संघ संस्थाहरुलाई सम्मान सहित केक काटेर तीन दिने वार्षिकोत्सव कार्यक्रम सिद्धार्थले सम्पन्न गरेको हो । विद्यालयका संस्थापक चन्द्र देवानको नाममा फण्ड स्थापना गरी प्रत्येक वर्ष असहाय, जेहेन्दार विद्यार्थीलाई स्कर्लरसीपको माध्यमबाट सहयोग गर्ने तयारी अघि बढाइएको विद्यालयका संस्थापक प्रिन्सिपल राजु यादवले जानकारी दिएका छन् ।
वार्षिकोत्सवको अवसरमा आयोजित समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल यादवले भने सिद्धार्थले अहिलेसम्म कसैको नक्कल गरेको छैन । सिद्धार्थले गरेका शिक्षा निती र कार्यहरुको नक्कल अरु निजी विद्यालयले गर्दै आएको भने ।
विद्यालयका व्यवस्थापकीय निर्देशक शितल यादवका अनुसार तीन दिने वार्षिकोत्सव कार्यक्रम अन्तर्गत पहिलो दिन बुधवार रक्तदान, विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, शिल्प (क्राफ्ट), कम्प्यूटर प्रविधि प्रदर्शनी, दोश्रो दिन खाद्यान्न मेला र जानकी वृद्धाश्रम तथा कबीर बाल अनाथ आश्रमलाई सहयोग गरिएको छ । सिद्धार्थ शिशु सदनले जनकपुरधामको गुणस्तरीय शिक्षाका लागि छुट्टै ऐतिहासिक पहिचान स्थापित गरिसकेको र सिद्धार्थबाट पढेका विद्यार्थीहरु अहिले देश विदेशमा नाम कमाई रहेको समापन कार्यक्रममा बोल्ने वक्ताहरुले दाबी गरे ।