एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर १५ :

मधेस प्रदेशमा २ सय ३८ जना एचआईभी संक्रमित अझै सम्र्पकमा आउन नसकेको जनाइएको छ ।
३६औँ विश्व एड्स दिवसको अवसरमा बुधवार धनुषाको सपहीमा स्वास्थ्य निर्देशनालयद्वारा आयोजित कार्यक्रममा हाल मधेस प्रदेशमा अनुमानित ४ हजार ४ सय संक्रमित रहेकोमा मध्ये ४ हजार १ सय ६२ जना मात्रै सम्पर्क आएको जनाइएको हो । बाँकी २ सय ३८ जना संक्रमित सम्पर्कमा नरहेकाले उपचार सेवाबाट अझै वञ्चित रहेका छन् ।
मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार पर्सामा सबैभन्दा १ हजार ३ सय ५ जना एचआइभीका संक्रमित छन् । त्यस्तै धनुषामा ८ सय ५, बारामा १ सय ९१, सप्तरीमा १ सय ७९, सिरहामा ३ सय ७५, महोत्तरीमा ३ सय ५५, सर्लाहीमा ४ सय ८९ र रौतहटमा ३ सय ७४ जना एचआइभीका संक्रमित रहेका छन् । मधेस प्रदेशमा १८ वर्ष मुनिका १ सय ७६ जना बालबालिका एचआइभी संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका राजवीर यादवले प्रस्तुत गरेको तथ्यांक अनुसार मधेस प्रदेशमा आ.व. ०७६/७७ मा १४ हजार ६ सय २ चेकजाँचमा ४ सय र आ.व. ०७७/७८ मा सो संख्या बढदै २५ हजार ९ सय ७८ चेकजाँच गर्दा ४ सय ७५ जना संक्रमित फेला परेको थियो । त्यस्तै आ.व. २०७८/०७९मा ३६ हजार २६ जनामा चेकजाँच गर्दा ६ सय ७५ जना र आ.व. २०७९/०८०मा ४३ हजार ४ सय ७५ जनामा चेकजाँच गर्दा ६ सय ६ जनामा एचआइभी पोजिटिभ पाइएको छ ।
कार्यक्रमका प्रमुख मधेस स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले एड्सबाट पीडित रोगीहरुलाई समाजमा गरिने हेलाप्रति चिन्ता व्यक्त गरे । उनले अन्य रोगजस्तै एड्सपनि रहेकाले एड्स रोगीहरु पनि सामान्य जीवनयापन गर्न सक्ने वातावरणको निर्माण गर्न आग्रह गरे । यसका लागि स्वास्थ्यकर्मीहरुले विशेष पहल गर्नुपर्नेमा उनले जोड दिए ।
यसका साथै मन्त्री सिंहले एचआईभी संक्रमित बालबालिकाको स्याहार सुसार र भरणपोषणका लागि उपलब्ध गराइने कावा भत्तालाई प्रदेश सरकारले निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद याव, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजीव झा लगायतले बोलेका थिए ।