एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर ६ :
जथाभाबी रुपमा एन्टीवायोटिक्स औषधि प्रयोगले बिमारी निको पार्नुको सट्टा शरीरमा दिर्घकालिन गम्भीर असर पुरयाउने भएकाले यसको नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।
जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेशद्वारा विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको अवसरमा आयोजित कार्यक्रममा जथाभावी एन्टीबायोटिकको सेवनले मान्छेहरूमा रोगबाट लड्ने क्षमताको ह्रास हुनुका साथै स्वास्थ्य क्षेत्रका लागि गम्भीर चुनौती थपिने गरिएको विज्ञहरुले बताए ।
एन्टिबायोटिक्सको जथाभावी प्रयोग कम गर्न औषधि पसले र चिकित्सकहरुलाई समेत गम्भीर हुुनुपर्नेमा कुरामा स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक डा. राजीव झाले जोड दिनु भयो ।
कार्यक्रममा जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. श्रवण मिश्रले कुनैपनि बिमारीमा औषधि पसल वा चिकित्सले लेखेको एन्टीबायोटिक औषधि कल्चर जाँच बिना नखान सुझाव दिए ।
उनले मानिस बिरामीमा मात्र नभई पशुपंक्षीको आहार, स्वास्थ्य संस्था वा प्रयोगशालाबाट निस्केका फोहरजन्य पदार्थबाट समेत एन्टिबायोटिक अर्थात प्रतिजैविक प्रतिरोधको खतरा बढी रहेकाले त्यसको नियन्त्रणका लागि सम्बन्धित निकायले ध्यान पुरयाउनुपर्नेतर्फ सचेत गराए ।
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह कार्यक्रम अन्तर्गत स्वास्थ्य निर्देशनालय र जनस्वास्थ्य प्रयोगशालाद्वारा सर्वसाधारणलाई चिकित्सकले सल्लाह बिना एन्टिबायोटिक औषधि प्रयोग नगर्न र चिकित्सकहरुलाई कल्चर जाँच बिना एन्टीबायोटिक औषधि प्रेस्किप्समा नलेख्ने सहितका सचेतना सहित जागरुक बनाउने कार्यक्रमहरु आयोजना गर्ने भएको छ ।