एसपी रिपोर्टर
जनकपुरधाम, असोज ५ :
मधेस प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुरले फोहोरी राजनीतिलाई सफा पार्नकालागि युवाहरुलाई राजनीतिमा लाग्न आह्वान गरेका छन् । पछिल्लो समय राजनीति र राजनीति गर्ने व्यक्तिहरुप्रति वितृष्णा बढिरहेको समयमा युवाहरुलाई उनले राजनीतिमा लाग्न आह्वान गरेका हुन् । जनकपुर जेसिज सप्ताह अन्तर्गत आयोजना गरिएको वक्तृत्व कला प्रतियोगिताको उदघाटन सत्रलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य ठाकुरले राजनीति, खेल, साहित्य लगायतका क्षेत्रमा समेत लाग्न प्रेरित गरेका हुन् ।
एक अर्को प्रसंगमा उनले पछिल्लो समय मिटरब्याजी कानूनको गलत फाइदा उठाईरहेकोमा चिन्ता समेत व्यक्त गरे । मिटरब्याजी कानूनको गलत भ्रमका कारण जनकपुरधाम लगायत नेपालको विभिन्न स्थानमा बजार व्यवसाय चौपट्ट हुँदै गईरहेकोप्रति चिन्ता व्यक्त गरे । उनले भने ‘गलत भ्रमका कारण बजार व्यवसाय खस्किदै गईरहेको छ, त्यसमाथी विपन्न वर्ग आवश्यक्ता परेको बेलामा समेत ऋण पाउन समस्या भईरहेको छ ।’
यो सबको मूल कारण सिण्डिकेटको राजनीति रहेको उनको भनाई थियो । उनले राजनीतिमा सिण्डिकेट, व्यापारमा सिण्डिकेट जताततै सिण्डिकेटले नेपालीहरु आजित भई सकेका छन् ।
जनकपुर जेसिजका अध्यक्ष अभिषेक चौधरीको अध्यक्षतामा भएको वक्तृत्व कला प्रतियोगिताको उदघाटन सत्रमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, बरिष्ठ उपाध्यक्ष मनिषरमण साह, महाविर युवा कमिटीका अध्यक्ष अजय गुप्ता, नेपाली कांग्रेसको नगर उपाध्यक्ष राकेशबिक्रम साह लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा जनकपुरधामका १० निजि विद्यालयका विद्यार्थीहरुको सहभागिता थियो ।