एसपी रिपोर्टर
जनकपुरधाम, साउन ८ : मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशमा पोषण अवस्थामा सुधार गर्नका लागि प्रदेश सरकारले विभिन्न प्रकारको नीति तथा कार्यक्रम बनाएर अगाडी बढन चाहिरहेको बताउनुभएको छ ।
ग्रामीण महिला विकास तथा एकता केन्द्रको आयोजनामा पोषण अवस्थामा सुधार सम्बन्धी प्रदेश स्तरीय छलफल तथा संवाद कार्यक्रमको जनकपुरधाममा उद्घाटन गर्दै उहाँले संविधानले नै खाद्य अधिकारको विषयलाई मौलिक हकको रुपमा अंंगिकार गरेकाले सबै वर्गका व्यक्तिलाई खाद्य सुरक्षाको अनुभूति दिलाउने गरी प्रदेश सरकारले विभिन्न प्रकारको कार्यक्रमहरू गरिरहेको बताउनुभयो ।
मुख्यमन्त्री यादवले मधेश प्रदेशको पोषण अवस्थामा सुधार गर्नका लागि महिला तथा बालबालिकालाई केन्द्रित गरी पोषणका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशको पोषण अवस्थामा सुधार गर्नका लागि गरिबी, अशिक्षा तथा स्वास्थ्यमा पनि सुधार हुन आवश्यक भएको बताउनुभयो ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र कुमार सिंहले पोषण अवस्थामा सुधार गर्नका लागि पूर्ण सुरक्षित मातृत्व प्रदेश, बाल तथा मातृ मृत्युदर घटाउने र पोषणयुक्त खाद्य गरिब तथा विपन्न वर्गका व्यक्तिलाई वितरण गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो । उनले संघिय सरकारले स्वास्थ्यको बजेटमा मधेशलाई विभेद गरिरहेको बताए ।
स्वास्थ्यको बजेट जनताको लागि हुन्छ भुगोलको लागि होइन तर पनि मधेशलाई विभेद गरिन्छ । संस्थाका संस्थापक अध्यक्ष एवं नेपाली काँग्रेसका नेतृ डा. आरजु राणाले सामाजिक रुपान्तरणका लागि सबै मिलेर अगाडी बढेको खण्डमा पोषण जस्ता समस्याहरू आफै अन्त्य हुने बताउनुभयो । सो भेलाबाट मधेश प्रदेशको पोषण अवस्थामा सुधार गर्नका लागि ४ बुँदे प्रतिबद्धता पत्र पनि सार्वजनिक गरिएको छ । प्रतिबद्धता पत्रमा मुख्यमन्त्री सहित प्रदेश सरकारका चारजना मन्त्रीहरूले समेत हस्ताक्षर गर्नुभएको छ ।