चन्दन ठाकुर
जनकपुरधाम, २० असार: संघीय शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले २१ औँ शताव्दीमा शिक्षा देशको मेरुदण्ड भएको बताउनुभएको छ । सोमवार जनकपुरधाममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् मधेश प्रदेशले गरेको एक दिने समन्वयात्मक गोष्ठीमा मन्त्री यादवले यस्तो बताउनुभएको हो । शिक्षा बिना केही पनि गर्न नसक्ने भन्दै उहाँले अहिलेको शिक्षाको साथमा विज्ञान प्रविधिलाई पनि जोडिएको बताउनुभो ।
मन्त्री यादवले प्राविधिक शिक्षा र शिक्षालयमा जोड दिई मधेश प्रदेशलाई प्राविधिक शिक्षामा अगाडि बढाउन सबै मिलेर काम गर्नुपर्ने पनि बताउनुभयो । उहाँले सम्बन्धित निकायले प्रत्येक शिक्षालयमा अनुगमन नगरेकोमा आपत्ति जनाउनुभयो । मन्त्री यादवले अनुगनमन टोली बनाई शिक्षालयहरूमा अनुगमन गर्न निर्देशनसमेत दिनुभयो ।
त्यस्तै, कार्यक्रममा मधेश प्रदेशका सामाजिक बिकासमन्त्री नवल किशोर साहले संविधानद्वारा जारी भएको संघीय संरचना अनुरुप कार्य विभाजन नभएको प्रति आपत्ति जनाउनुभयो । उहाँले प्रदेशमा ६४ वटा सिटिईभिटी शिक्षालय स्थापना गर्न संघीय सरकारसँग आर्थिक सहयोग गर्नको लागि आग्रह गर्नुभयो ।
त्यस्तै, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले प्राविधिक शिक्षा बिना देश समुन्नत हुन नसक्ने बताउनुभयो । उहाँले प्राविधिक शिक्षाको उपयोग गरी कृषिमा जोड़ दिनुपर्ने पनि बताउनुभयो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा एवं तालिम कार्यक्रम संचालन गर्न सरोकारवालाहरूसँग समन्वय तथा सहकार्य गर्नका लागि यो कार्याक्र गरिएको आयोजकले जानकारी दिएको छ ।





