एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १० : प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले संघीयताको भावना अनुसार संघ सरकारले प्रदेश सरकारलाई बजेट नदिएको आरोप लगाउनुभएको छ । प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनकपुरधाममा बुधबार गरेको ‘आर्थिक वर्ष २०७७÷७८ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठी’ मा मन्त्री साहले यस्तो आरोप लगाउनुभएको हो ।
उहाँले संघले कुल बजेटको १५ प्रतिशत मात्र प्रदेशहरूलाई दिने गरेको आरोप लगाउनुभयो । प्रदेशहरूबाट कर लिने तर प्रयाप्त बजेट नदिने संघ सरकारको नीति गलत रहेको पनि उहाँले बताउनुभयो । मन्त्री साहले संघ सरकारले बजेटको न्यायोचित बाँडफाँड नगरेको भन्दै जनसंख्याको अनुपातमा बजेट विनियोजन हुनुपर्ने जिकिर गर्नुभयो ।

गोष्ठीमा प्रदेश २ का नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर भोगेन्द्र झाले नेपालमा नामका लागि मात्र संघीयता रहेको टिप्पणी गर्नुभयो । संघीयताको न्यूनतम सिद्धान्त पनि व्यवहारमा लागू नभएको उहाँको भनाइ छ । सहकार्य, सहअस्तित्व र समन्वय भन्ने कुरा संविधानमा लेखिए पनि कहिल्यै व्यवहारमा नदेखिएको उहाँको गुनासो छ ।
गोष्ठीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले स्वास्थ्यसम्बन्धी योजना तथा कार्यक्रमहरूमा ढिलासुस्ती नगर्न प्रदेश २ सरकारलाई सचेत गराउनुभयो । उहाँले बजेट फ्रिज हुने परिपाटीको अन्त्य गर्न पनि आग्रह गर्नुभयो ।
सचिव डाक्टर पोखरेलले हरेक कुरामा संघ सरकारको मात्र मुख ताक्ने प्रबृति प्रदेश सरकारले त्याग्नुपर्ने बताउनुभयो । उहाँले सबै आवश्यकता संघले नै पूरा गर्ने हो भने प्रदेश सरकारको के काम भनेर प्रश्नसमेत गर्नुभयो । सचिव पोखरेलले स्थानीय तह, प्रदेश र संघ सरकारबीच समन्वय हुनुपर्ने पनि बताउनुभएको थियो ।
गोष्ठीमा प्रदेश २ स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले आर्थिक २०७७÷७८ मा प्रदेश २ मा स्वास्थ्य क्षेत्रमा हासिल भएका मुख्य उपलब्धिहरूबारे जानकारी दिनुभएको थियो । यस अवधिमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा आएको, ५० बेडको प्रादेशिक सरुवा रोग अस्पताल निर्माणधीन रहेको, आठ वटै जिल्लामा पीसीआर ल्याब सञ्चालनमा आएको, प्रदेशस्तरमा कोल्ड रुम भवनको निर्माण भएको, प्रदेशस्तरीय कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याइएकोलगायत उपलब्धिहरूको विवरण प्रस्तुत गरिएको थियो ।


